Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिउता पूर्वमन्त्री खाँण थुनामै, यता उनलाई कांग्रेसको सम्मान

उता पूर्वमन्त्री खाँण थुनामै, यता उनलाई कांग्रेसको सम्मान


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन् तर यता नेपाली कांग्रेसले उनलाई हिजो(शनिबार) सम्मान गरेको छ । शनिबार बुटबलमा सुरु भएको कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलनमा खाँणलाई सम्मान गरिएको हो ।

उक्त सम्मानपत्र लिन बालकृष्णका भाइ जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणलाई मञ्चमा बोलाइएको थियो । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले पूर्वमन्त्री खाँण लुम्बिनी प्रदेशको अभिभावक भएको बताउँदै उनका भाइ रामकृष्णलाई सो सम्मानपत्र ग्रहण गरिदिन मञ्चमा आह्वान गरेका थिए । मञ्चमा उक्लेका रामकृष्ण खाँणलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले खादा ओढाए ।

उता कार्यक्रममा उपस्थित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर भने खाँणलाई सम्मान गर्दा बसेको ठाउँबाट उठेर सम्मानको सहमति समेत जनाएनन्, उनीहरु उक्त सम्मानलाई टुलुटुलु हेरेर बसिराखे ।

पूर्वगृहमन्त्री खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उनलाई सम्मान गर्न थालेको छ । गत बैशाख २७ मा पक्राउ परेका खाँण १ असारमा जिल्ला अदालत, काठमाडौंले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पुर्पक्षका लागि थुनामा गएपछि साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापासहितका केही नेताले निलम्बनको माग गरेका थिए । पक्राउ गरेसँगै कांग्रेसभित्रैबाट खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेपनि कांग्रेसले निलम्बन गरेन । पक्राउ गरेसँगै कांग्रेसभित्रैबाट खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेपनि निलम्बन नगरेको उनलाई यतिबेला कांग्रेसले सम्मान गरेको छ ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध खाँणले गरेको पुनरावेदन निवेदनमा गत शुक्रबार उच्च अदालत पाटनमा संयुक्त इजलासका न्यायाधीशबीच राय बाझिएर अहिले उनको मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पुगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाँणको विषयलाई लिएर उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा उक्त राय बाझिएको हो । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी ३० लाख रुपैयाँ धरौटीमा छाड्ने राय दिएका थिए भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिएका थिए । सोही विवाद अब तेस्रो न्यायाधीशबाट सुनुवाइ हुनेछ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया