Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसहकारीहरूबाट पीडितको समाधान खोइ ?

सहकारीहरूबाट पीडितको समाधान खोइ ?


काठमाडौं । फसिकेबका विष्णुहरि श्रेष्ठ आफ्नो सहकारीमा फसेको रकम उठाउनका लागि काम र माम छाडेर लाग्नु परेको बताउँछन् । पछिल्लो समयमा सहकारी पीडितहरूले आन्दोलन समेत गरिरहेका छन् । सहकारी पीडितहरू आन्दोलनमा छन् तर समस्या भने समाधान हुन सकिरहेको छैन । सहकारी ठगहरूमा ठूलाठूला व्यापारीदेखि राजनीतिक दलका ठूलाठूला नेताहरू मन्त्री समेत संग्लन रहेका कारणले यसको समस्याको समाधान नभएको बताउँछन् सरोकारवालाहरू । कतिपय सहकारीका ठगहरूको ठूला ठूला नेताहरू मन्त्रीहरूसँगको साँठगाँठले र नेताहरू नै सहकारी ठगको साझेदार भएको कारणले पनि सहकारी ठगहरूलाई कारबाही गर्न नसकिरहेको वा गर्न नचाहेको भनेर पनि बजारमा चर्चा छ । त्यसो त फुटपाथे व्यापारहरू समेत सहकारीबाट पीडित भइरहेका छन् । पछिल्लो समयमा सहकारी पीडितहरूको बिचल्ली नै भइरहेको सरोकारवालाहरू बताउँछन् । सहकारीमा करोडौंकरोड रकम फस्नेहरू पनि थुप्रै भेटिन्छन् । त्यसो त देशमा भएका सबैजसो सहकारी संस्थाहरू एकैचोटि कसरी समस्यामा प¥यो त भन्ने विषय महत्वपूर्ण छ । सबैजसो सहकारीमा समस्या देखिनु आश्चर्यको कुरा भएन र सहकारीहरूले लगानी गरेको नउठेको हो कि सहकारी संस्थाका सञ्चालकहरूले बेइमानी ठगी गरेका हुन् त ? यसबारेमा छानबिन गर्न सरोकारवालाहरूले त्यति चासो देखाएन र यसका लागि सहकारी पीडितहरूले आन्दोलन समेत गर्नुप¥यो र प्रहरीको डण्डा समेत खानुपर्यो । आफ्नो पैशा पनि नपाउने प्रहरीको लाठी पनि खानुपर्ने भएन र डबल बिचल्ली । त्यसो त बेलैमा सम्बन्धित सरोकारवालाहरूले र सरकारले यसमा चासो नदेखाएकाले यस्तो समस्या आएको हो भन्नेहरू पनि नभएका होइनन् । सहकारीमा आफ्नो आफूले जम्मा गरेको रकम नपाएको कारणले विवाद हुलदंगा र झगडा समेत हुने गरेका छन् ।

सहकारीका सञ्चालकहरू भने लुकीलुकी हिँड्छन् तर ग्राहकहरू र स्टाफहरू मारमा पर्ने गरेका छन् । सम्बन्धित निकाय र नियामक निकायहरूले बलियो अनुगमन नगरेको नियामक निकायका पदाधिकारी हरूले आफ्नो गोजी भर्ने गरेका कारणले यस्तो स्थिति आएको हो । त्यसो त कतिपय सहकारी संस्थाहरू भागी पनि सकेका छन् ।

सहकारी संस्थाहरू बचतकर्ताहरूको निक्षेप डुबायर भाग्ने गरेको समाचारहरू बेलाबेलामा आउने गरिरहेका छन् । यस्तो स्थितिमा नै सम्बन्धित सरोकारवालाहरूले चासो देखाएको भए अनुगमन गरेको भए यो समस्याले बिकरालरूप लिने थिएन । कतिपय सहकारी संस्थाहरूले वृद्धहरूले वृद्धभत्ताको रकम जम्मा गरेको रकमदेखि बचतकर्ताहरूको करौडौं रकमसम्म जम्मा गरेको रकम परेको बताएका छन् सरोकारवालाहरू । त्यसो त सहकारीमा एकै व्यक्तिले करोडौं रकम जम्मा गर्न ठीक हो त ? सहकारी संस्था भनेको त आफ्नो संस्थाका सदस्यहरू सेयरधनीहरू बीच सानोसानो रकमहरूको लेनदेन कारोबार गर्नका लागि स्थापना भएको हो । तर नेपाल अधिराज्यभर च्याउ सरह उम्रेका सहकारी संस्थाले नियमविपरीत सरकारीको उद्देश्यविपरीत कारोबार गर्ने गरेका छन् । त्यो पनि ग्राहकलाई सेयरधनी नबनाई । सहकारी संस्था भनेको आफ्नो सेयर धनीहरूले मात्र कारोबार गर्ने संस्थाहरू भए पनि बेला–बेलामा सहकारी संस्थाहरूले निक्षेपकर्ताको निक्षेपको रकम कुम्ल्याएर भागेका समाचारहरू आइरहेका हुन्छन् । सहकारीका बचतकर्ताहरूले बेलाबेलामा सहकारी संस्थाविरुद्ध उजुरी हालेको समाचारहरू पनि आइरहेका हुन्छन् । तर पनि सहकारी संस्थाहरूमा हुने गरेको बेथितिहरूको बारेमा अनुगमन गर्ने गरेको पाइँदैन । बेलाबेलामा बचतकर्ताहरूको रकम खाएर सहकारीका सञ्चालकहरू भागेको समाचारहरू आउने गरे पनि काग कराइ रहन्छ पिना सुकिरहन्छ भन्ने उखानजस्तै अनुगमन गर्ने नियामक निकायहरू तमासे मात्र भइरहन्छन् ।

राजधानी र सहरहरूमा टोलैपिच्छे घरैपिच्छे सहकारी संस्थाहरू स्थापना भएका छन् अझ त एउटै घरमा तीन चारवटा सहकारीहरू रहेका छन् । देशभरमा लगभग ३० हजारभन्दा बढी सहकारी संस्थाहरू रहेको बताउँछन् सरोकारवालाहरू । देशभर खुलेका कतिपय सहकारी संस्थाहरूको कारणले निक्षेपकर्ताहरूको अरबौं रकम डुबेका छन् । तर अनुगमन नगर्ने कारणले गर्दा लाखौं निक्षेपकर्ताहरूको रकम जोखिममा पर्नेगरेका छन् । नेपालमा अधिकारप्राप्त नेपाल राष्ट्रिय सहकारी महासंघ सहकारी मन्त्रालय सहकारी विभाग नेपाल सहकारी बोर्डजस्ता अधिकार प्राप्त नियामक निकायहरू भए पनि यिनीहरूको अल्छिपना र कमिसनको चक्करले बचतकर्ताहरूको अरबौं रकम डुब्ने गरेका छन् । थुपै्र सहकारी संस्थाहरूले निक्षेपकर्ताहरूको निक्षेपलाई झ्वाम पारेर भागेका छन् । अरबौं रकम झ्वाम पार्नेमा विगतका सहकारी संस्था ओरियन्टल सहकारी संस्था त्यसैगरी सिभिल सहकारी संस्था पनि छन् । ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत केही वर्ष चिसो छिडीमा राज गरेर समेत आइसकेको । त्यसो त सुधीर बस्नेतले सहकारीको रकमलाई आफ्नो हाउजिङ अपार्टमेन्ट व्यवसायमा लगाएको थियो । तर ती व्यवसाय चलाउन नसकेका कारणले सहकारीको रकम डुबेको हो भन्ने भनाइ पनि रहेको थियो त्यसबेला । त्यसैगरी सिभिल सहकारीले पनि लगभग छ अर्बभन्दा बढीको रकम बचतकर्ताहरूको डुबाएको कारणले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ र श्रीमतीसहित झ्यालखानाको चिसो छिडीमा राज गरिरहेको बताउँछन् । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सिभिल बैंकको अध्यक्ष समेत सहेको थियो । त्यसबेला त्यसैगरी विगतको सभासद् पनि थियो भने इच्छाराजको नेतृत्वमा सिभिल बैंकको साथै सिभिल होम्स सिभिल मल सीटीसी मलजस्ता कम्पनीहरू पनि सञ्चालनमा रहेको बताउँछन् सरोकारवालाहरू । त्यसो त धेरैजसो सहकारी संस्थाहरूमा सामाजिक सुशासनको कमी नीति नियमको पालना नभएको अनुशासित भएर संस्था सञ्चालन गरेको पाइँदैन भन्ने सरोकारवालाहरूको भनाइ रहेका छन् भने नियामक निकायहरूले अनुगमन नगरेको यिनीहरूको निष्कृयताको कारणले पनि केही सहकारी संस्थाहरूमा अनियमितता पलाएका हुन् र निक्षेपकर्ताहरूको निक्षेपमा जोखिम पर्ने गरेको छ ।

आखिर किन आकर्षण हुन्छन् त सर्वसाधारण ? खासगरी सहकारी संस्थाहरूमा ब्याज धेरै पाउने लोभले अनि लोभले लाप लापले बिलाप हुन्छन् । बैंक तथा वित्त कम्पनीहरूमा भन्दा पाँच, सात प्रतिशतले बढी ब्याज दिने गरेको बताउँछन् सहकारीका निक्षेपकर्ताहरू यस कारणले पनि सहकारी संस्थाहरूमा सर्वसाधारणको आकर्षण रहेको भन्ने भनाइ रहेका छन् । केही सहकारी संस्थाहरूले १८ प्रतिशतसम्म ब्याज दिने गरेको बताउँछन् स्वयं बचतकर्ताहरू । बचतकर्ताहरूलाई बढी ब्याज दिने र चर्काे ब्याज दरमा ऋण प्रवाह गर्ने र धेरैजसो लगानी घरजग्गाहरूमा गर्ने गरेको कारणले पनि केही सहकारीहरू डुबेको हो । हिन्दीमा एउटा उखान छ ‘हमतो डुबेगे सनम आपको भी ले डुबेंगे’ भन्नेजस्ता भयरहेका छन् केही सहकारी संस्थाहरू । केही सहकारीहरूको गलत नियतको कारणले हजारौं बचतकर्ताहरू डुब्ने गरेका छन् । कतिपय सहकारी संस्थाहरूले आफ्नो सदस्य सेयर धनीहरूको बीचमा मात्रै सानासाना रकमको कारोबार गर्ने फम्र्याटमा सञ्चालन गर्नुपर्ने सहकारीहरूले दैनिक लाखौं कराडौं कारोबार गर्ने गरेका छन् भने बढी ब्याज पाउँदै लोभले बैंक तथा बित्त कम्पनीहरूमा आफ्नो रकम जम्मा नगरी सहकारी संस्थाहरूमा जम्मा गर्ने गरेको कारणले कतिपय सर्वसाधारण बचतकर्ताहरू डुब्ने गरेका छन् । सहकारी संस्थाहरूमा करोड करोड रकम जम्मा गर्नका लागि होइन भन्ने समेत थाहा नपाएको कारणले पनि सहकारीमा जम्मा गरेको रकम जोखिममा पर्ने गरेका छन् ।

आफ्नो मेहनतको कमाइ जम्मा गर्नका लागि सहकारी संस्थाहरू भन्दा बैंक तथा वित्त कम्पनीहरू भरपर्दाे छन् । त्यसो त केही वित्त कम्पनीहरूमा पनि घोटालाचाहिँ नभएको भने होइन तर पनि सहकारी संस्थाहरू भन्दा ब्याज अलिक कम भए पनि बैंक तथा वित्त कम्पनीहरू कम जोखिमका छन् । त्यसैगरी बढी ब्याज पाउने लोभले केही सहकारीहरूमा बचत गर्ने निक्षेपकर्ताहरूलाई भने भन्नुपर्ने हुन्छ । किन दुःख पाइस् मंगले आफ्नै ढंगले । त्यसो त कतिपयको भनाइमा सहकारी संस्थाका सञ्चालकहरूले निक्षेपकर्ताहरूको रकम झ्वाम पारेर भागेको भन्ने पनि रहेका छन् तर पनि भाग्ने सबै सहकारीहरूको अवस्था यस्तो भने नभएको पनि बताउँछन् सरोकारवालाहरू । केही संकटमा परेका सहकारी संस्थाहरूले आफूले लगानी गरेको ऋण उठाउन नसकेर समयमा बचताकर्ताले मागेको समयमा रकम दिन नसक्ने अवस्था आएपछि यस्तो अवस्था आउने गरेको हो । तर पनि सरकार राज्यले ठोस पाइला चालेको पनि देखिँदैन । अहिलेसम्म पनि सहकारी पीडितहरूले न्याय पाउन सकिरहेका छैनन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया