Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगखरर्बौं लगानीको होटलले उद्योगको मान्यता कहिले पाउने ?

खरर्बौं लगानीको होटलले उद्योगको मान्यता कहिले पाउने ?


काठमाडौं । भनिन्छ, हालसम्म नेपाली होटेल क्षेत्रमा लगभग २१ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी भइसकेको छ । विसं २०७९/८० मा मात्रै नेपाली होटेल क्षेत्र (उद्योग) मा २० अर्बभन्दा बढी लगानी भएको छ । हुन त गत आर्थिक वर्षमा मात्रै नेपालमा लगभग एक दर्जनजति ठूला होटेल, लक्जरी रिसोर्ट र बुकिट होटेल सञ्चालनमा आएको भन्ने होटेल संघ नेपाल (हान) को भनाइ रहेको छ ।

त्यसो त नेपाल उद्योग महासङ्घअन्तर्गत रहेको पर्यटन तथा हवाई यातायात समितिको प्रतिनिधिहरूले नेपाल सरकारका तत्कालीन कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर नेपालको होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकतामा राखेर उद्योग सरहको मान्यता र सेवा सुविधा दिनुपर्ने माग राखेका थिए । उबेलाका मन्त्री गुरुङले नेपालका तारे होटलहरूलाई उच्च प्राथमिकतामा राखेर उद्योगका रूपमा समावेश गर्न आफूले पहल गर्ने आश्वासन पनि दिएका थिए । साथै, उनले होटल मात्रै नभएर नेपालका सबै उद्योग व्यवसाय सहज ढंगले सञ्चालन गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका थिए । तर केही समयपछि नै उनी सरकारबाट….।

हुन पनि विसं २०८०/८१ मा मात्रै नेपालमा १७ वटा नयाँ पाँचतारे होटल थपिनेवाला छ । त्यसरी नेपालमा थपिने अधिकांश नयाँ पाँचतारे होटलको व्यवस्थापन विदेशी (चेन) होटलले सम्हाल्ने पनि समाचारमा जनाइएको छ । अब नेपालमा नयाँ थपिएका पाँचतारे होटल र पहिलेदेखि नै सञ्चालन हुँदै आएका पाँचतारे होटल गरेर ३६ वटा पाँचतारे होटलको संख्या पुग्नेछ । साथै, ती ३६ वटा पाँचतारे होटलको बेड संख्या पाँच हजार दुई सय ३४ वटा पुग्ने छ । यसरी थपिएका पाँचतारे होटल र होटलको बेड संख्याले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरू जो ‘लक्जरी’ तथा ‘डिलक्स’ सेवा सुविधा उपभोग चाहन्छन्, त्यस्ता विदेशी पर्यटकहरूका लागि प्रशस्त बेड संख्या र सेवा सुविधा उपलब्ध हुने देखिन्छ । त्यसो त विश्वले होटलका साथै समग्र पर्यटन क्षेत्रलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिएको छ । अथवा भनौं विश्वमा समग्र पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग !’ भनेर चिन्ने गरिन्छ । सामान्यतया पर्यटन उद्योग भन्नाले होटल, मोटेल स्मरणीय छ, नेपालमा हालसम्म मोटेल नभएको जस्तो लाग्छ, यो पंक्तिकारलाई, त्यस्तै गरेर कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टेका साथै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जमेको हिउँ जो नीलो ढिक्का चढ्ने (आइस क्लाइम्बिङ गर्ने), निकुञ्ज पर्यटन, बन्जी जम्पिङ, क्यानोइङ, स्कि खेल, बर्ड वाचिङ, फिसिङ, शिकार पर्यटन, हट एयर बेलुनिङ, जिप फ्लाइएर, चट्टान आरोहण, स्काई वाक, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, कल्चरल टुर, मेडिकल टुर, ध्यान–योग पर्यटन, गाउँ अवलोकन भ्रमण, एकल जातीय बस्ती भएका गाउँहरूको भ्रमण, प्राचीन सहर, स्मारक, किल्ला, सांस्कृतिक सम्पदा, युथस्थलको भ्रमण, पुतली अवलोकन, जंगली जनावरहरूको अवलोकन आदिलाई बुझिन्छ ।

नेपाली पर्यटनको मेरुदण्डको रूपमा रहेको होटेल क्षेत्रलाई सरकारले जतिसक्दो अब उद्योगको मान्यता दिएर सोहीअनुसारको सहुलियतहरू होटलका सञ्चालकहरूलाई उपलब्ध गराउनुपर्छ । त्यसै पनि निजी प्रयासमा नेपालमा पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे र पर्यटकस्तरीय होटल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे बन्ने र थपिने क्रम देशव्यापीरूपमा बढ्दो क्रममा रहेको छ । कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै वा आफ्नो घर छाडेर अन्यत्र जानेबित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ वा खाने÷पिउनेको व्यवस्था गर्छ । अथवा कुनै पनि मान्छेले आफ्नै देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपूर्ण कुरो के भने, जसले आफ्नो घर वा देश छाडेर एक रात एक दिन (२४ घण्टा) बाहिर गएर बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँगको मातहत रहेको ‘विश्व पर्यटन संगठन (युएन–डब्लुटीओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ । त्यसरी हेर्दा त कहिलेकाँही भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) पर्यटकहरूलाई हामीले पर्यटक मान्ने कि नमान्ने ? खास गरी हाल भगवान् मानिएको र बुद्ध धर्मका प्रवर्द्धक मानिएका गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न एकछिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई हामीले पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आइसकेको छ ।

समग्र नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको कुरो गर्दा (कोभिड–१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौगुणा’ले उन्नति वा भनौं प्रगति भइरहेको थियो । तर पनि (कोभिड–१९) पछि सन् २०२२ र सन् २०२३ मा भने नेपालमा पर्यटनले अपेक्षा गरेभन्दा राम्रो प्रगति गर्यो । किनभने (कोभिड–१९) पछि, सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७६ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेको तथ्याङ्क हालै प्रकाशित भएको छ । त्यसो त नेपाली होटल क्षेत्रको कुरो गर्दा लगभग पाँच वर्षअघि आएको समाचारअनुसारमा नेपाली होटल उद्योगमा लगभग ११ खर्ब लगानी भइसकेको थियो । त्यसको आधारमा हेर्दा हाल १८÷१९ खर्बभन्दा बढी नेपाली होटल उद्योगमा लगानी भइसकेको हुनुपर्छ । हुन पनि काठमाडौं बाहिर मात्रै १३ वटा पाँचतारे होटल खुलिसकेको छ ।

उता सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक मुस्ताङ जिल्लामा रहेको हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ बाबा धामको भ्रमण गरेका थिए । त्यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेपछि सो क्षेत्रमा भ्रमण गर्न आउने भारतीय पर्यटकहरूको घुइँचो सोचेभन्दा बढी नै लाग्न थालेको थियो । तर कोरोना महामारीसँगै सो क्रम पनि रोकियो । तर अब हामीले फेरि पनि आगामी वर्षहरूमा भारतीय पर्यटकहरूको त्यो घुईंचो कायम हुनेछ भन्ने आशा गरौँ । हो, त्यसरी भारतीयलगायत अन्य देशका पर्यटकको चाप बढ्न थालेपछि त्योबेला नै मुुस्ताङको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा नयाँ होटल बन्ने, खुल्ने क्रम बढ्दो रहेको थियो ।

अर्को महत्वपूर्ण कुरो भनेको काठमाडौं, ललितपुर, भक्तपुरलगायत सुविधा सम्पन्न सहर–बजार क्षेत्रमा ‘होस्टेल’ र ‘होम स्टे’ चलाउन दिनु हुँदैन ! भनी पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे होटलका साथै पर्यटकस्तरीय होटल, कटेज, रिसोर्ट, गेस्ट हाउस र लजका सञ्चालकहरूले लामो समयदेखि राख्दै आएको मागलाई पनि सरकारले सम्बोधन गर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया