Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसांसदहरूले संविधानअनुसार काम गरून्

सांसदहरूले संविधानअनुसार काम गरून्


काठमाडौं । जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्छन्, ‘तपाईं २०७२ सालको संविधानअनुसार चुनाव लडेको हो कि होइन ?’ नेपालको संविधान, २०७२ मा कतै राजतन्त्र उल्लेख छैन । हिन्दु राष्ट्र पनि भनिएको छ । संविधानले त लोकतन्त्रको कुरा गरेको छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राप्रपा पनि होमिएको थियो । संविधानबमोजिम नै राप्रपाले जनतासँग भोट माग्यो ।

जनताले १४ सिट दिए । २०७९ पुस ११ गते राप्रपाबाट लिङ्देनसहित अन्य नेता मन्त्री खान पुगे । राप्रपासँग नैतिकता रहेछ त ? गम्भीर प्रश्न होइन यो । जनतालाई कतिसम्म झुक्काउने ? कि हामी लोकतन्त्र मान्दैनौं भनेर राप्रपाका सबै सांसदले भटाभटी राजीनामा दिनुपर्यो । जनताले तिरेको करबाट तलबभत्ता खाने, सरकारी गाडी चढ्ने अनि देशमा राजा चाहियो भन्दै सिधासाधालाई प्रहरीको लाठी खुवाउने ?
कतिसम्म सामन्ती र शोषकी सोच हो यो । सांसदको लोगो कि बुझाऊ कि यो ढोंग नरच । हामी २०७२ सालको संविधान मान्दैनौं, संसद्मा जाँदैनौं भने पनि एउटा कुरा । लोकतान्त्रिक व्यवस्थामा सांसद बन्ने, मन्त्री खाने अनि सिधासाधी युवालाई सडकमा उतार्ने ? यस्तालाई जनताले कसरी पत्याउने ? राप्रपासँग के भिजन छ ? जनताले तिरेको करबाट तलबभत्ता खाने अनि सडकमा आउने ।

जनतामा भ्रम छर्ने पनि एउटा हद हुन्छ । कतिसम्म चाहिँ जनतालाई ‘मुर्गा’ बनाउन जानेका हुन् । जनताले तिरेको पनि खाने, पूर्वराजाबाट ल्याएर पनि खाने रणनीति हो यिनीहरूको भन्ने कसले बुझेको छैन ? २०७० सालको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपाले २४ सिट पायो । सदनमा चौथो दल बन्यो राप्रपा । राजाको नारा लगाउँदै हिँड्ने कमल थापाको पतन किन भयो भन्ने त सबैले छर्लङ्ग देखेका छन् ।
२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि जति पनि सरकार गठन भयो, त्यसमा कमल थापा मन्त्री खान पुगे । केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवाकै सरकारमा उनी मन्त्री थिए । त्यही हर्कतका कारण २०७४ सालको निर्वाचनमा राप्रपा एक सिटमा खुम्चियो । लिङ्देन मात्रै झापाबाट निर्वाचित भए । यस्तै, चर्तिकलाले गर्दा २०८४ सालको चुनावमा राप्रपाको इतिहास नै सकिने देखिएको छ ।

जनताले राप्रपाका नेताहरूको दोहोरो चरित्र देखिसकेका छन् । राप्रपाका नेताहरूले देशमा पुनः राजतन्त्र फर्काउने भनेर पूर्वराजा ज्ञानेन्द्रबाट पैसा ल्याएर खाने गरेको आमजनताको बुझाइ छ । कमल थापाको राजनीति लगभग अन्त्यमा आइसकेको छ । उनले राजनीतिबाट सन्यास लिए हुन्छ । अब पालो लिङ्देनको हो । सिधासाधी युवालाई सडकमा ल्याउने, ट्राफिक जाम गराउने, आम जनतालाई दुःख दिने, शान्तिसुरक्षामा खलल पार्ने लिङ्देनले पहिले त आफ्नो धारणा स्पष्ट पार्नुपर्यो ।

आफूचाहिँ यताबाट नि खाने, उताबाट नि खाने अनि जनताका छोराछोरीलाई सडकमा उतारेर पानीको फोहोरा, प्रहरीको लाठी खुवाउने ? जोसँग विचारधारा छैन, सिद्धान्त छैन, नैतिकता छैन, उसको पछाडि दौडिनु एउटा बेवकुफी हो भन्ने कुरा जनताले पनि बुझ्नुपर्छ । यहाँ जसले पनि आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । जनता हिजो पनि सित्तैमा सहिद बनेका थिए, भोलि पनि सित्तैमा सहिद बन्छन् ।

पदमा पुग्नेहरूले पछि फर्किएर पनि हेर्दैनन् । यदि राप्रपाका नेताहरूसँग नैतिकता छ भने सडकबाटै सांसद पदबाट राजीनामा गर । आफ्नो फाइदाका लागि विनासित्ती जनताको छोराछोरीलाई लाठी नखुवाऊ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाका पीडितसँग के गरे ? सबैले देखेकै छौं । आफ्नो अस्पताललाई अदालतले इजाजत नदिऊञ्जेल उनले पीडितहरूलाई सडकमा उतारे ।
सर्वोच्च अदालतले इजाजत दिएपछि उनी गुपसुम छन् । प्रसाईंले त आफूले चाहेको कुरा पाए, उनको पछाडि दौडिनेले के पाए ? सबैले के बुझ्नुपर्छ भने अब २०४७ सालको संविधान ब्युँतिँदैन । राप्रपाले लगाएको नारा कुनै हालतमा पनि पूरा हुने छैन । पछिल्लो संविधानपछि मुलुकमा धेरै कानुन बनिसकेको छ । प्रदेशको स्थापना भएको छ । माओवादीले जनयुद्धको क्रममा राखेको ४१ सूत्रीय माग त पूरा गरिसकेको छ ।

काँग्रेस, एमाले, मधेशी दलसँग मिलेर हुन्छ कि घुर्काएर देशमा संविधान त आयो । संविधान बन्यो, देशमा संघीयता आयो । राप्रपाले जेसुकै गरे पनि यो व्यवस्था फेरिनेवाला छैन । १० वर्ष जनयुद्ध गरेर ल्याएको व्यवस्था मुखले भट्याउँदैमा परिवर्तन हुन्छ ? लिङ्देनले कि हतियार उठाएर अर्को जनयुद्ध गर्न सक्नुपर्यो कि अहिलेको व्यवस्था मान्नुपर्यो । राप्रपाले कहिलेसम्म जनतालाई ढाँट्ने ?

ढाँटेको कुरा कहिलेसम्म छोपिन्छ ? कहिले त बाहिर आइ नै हाल्छ । राप्रपाको हाल पनि त्यस्तै हो । राप्रपा अहिले विपक्षी दलमा छ । २०७९ सालको निर्वाचनबाट काँग्रेस पहिलो र एमाले दोस्रो पार्टी बन्यो । तर यी पार्टीले त सरकार गठन गर्न सकेनन् । ३२ सिटेले देशको ड्राइभिङ सिट हाकिरहेको छ । त्यत्रो ठूलाठूला पार्टीले त देशलाई निकास दिन नसकेको बेला राप्रपाले फूर्ती लगाएर हुन्छ ?

बाहिर जतिसुकै ठूला कुरा गरे पनि प्रचण्डको सामुन्ने सबै राजनीतिक दलको चुप हुन्छन् । नेतासँग आफ्नो भिजन राख्न सक्ने आँट हुनुपर्छ । त्याग गर्न सक्नुपर्छ । यो गर्न नसक्ने व्यक्ति कहिले नेता नै बन्न सक्दैन् । जुनसुकै राजनीतिक दल होस्, तिनको सिद्धान्त आफैं खाऊँ र आफैँ लाऊँ मात्र हो । ‘मुखमा रामराम, बगालीमा छुरा’ भन्ने चर्चित उखान नेपाली राजनीतिक दलका हर्कतसँग ठ्याक्कै मिल्दोजुल्दो छ ।
नाम जनताको, फाइदा सधैं आफ्नो, राजनीतिक दलको सिद्धान्त नै यही हो । हिजोकै कुरा गरौं, एक हजार मान्छे सडकमा ल्याएर संविधान खारेज हुन्छ ? अहिलेका गृहमन्त्री रवि लामिछानेलाई हेरौं । हिजो सञ्चारकर्मी हुँदा राजनीतिक दललाई बेस्सरी गाली गर्ने लामिछाने आज सञ्चारकर्मीलाई नै बेस्सरी गाली गर्छन् । यिनीहरू जता फाइदा हुन्छ, त्यतै ढल्किन्छन् भन्ने पुष्ट्याइँ हो यो ।

राजाको पालामा समेत गृहमन्त्री भएका कमल थापाले जनतालाई ढ्याङढ्याङ् गोली हान्न लगाए । २०६२÷६३ सालको १९ दिने आन्दोलनमा धेरैले ज्यान गुमाए । उनको निर्देशनले गर्दा प्रहरीले आँखा चिम्लेर गोली चलायो । नयाँ संविधान जारी भएपछि त्यही व्यक्ति तीन पटक मन्त्री भए । अनि यिनीहरूसँग नैतिकता छ ? राप्रपाले पनि अब त्यही खेल नखेले पनि हुन्छ ।

बरु, देशको आर्थिक अवस्था नाजुक छ । सरकारी गाडी नचढ्ने, तलबभत्ता नबुझ्ने, देशविदेश नघुम्ने घोषणा गरेचाहिँ जनताले अलिकति भए पनि विश्वास गर्छन् कि । नत्र यस्तो पार्टीले देश र जनताको गीत नगाएकै बेस होला । एउटा सरकारी सेवासुविधा त त्याग्न नसक्नेले देश विकास गर्छन् ? सोखमा बाँचिरहेकाहरूबाट परिवर्तन हुन्छ ? भ्रष्टाचार गर्ने बानी लागेकाले देश सुधार गर्छन् ?

भिजनविना जनतालाई सडकमा उतार्ने अनि मिडियाबाजी गर्ने । हामीले जनताको पक्षमा आवाज उठाऔं है भन्ने देखाउने खेल मात्र होइन ? यिनीहरूको आन्दोलनको औचित्य के ? कि छिमेकीले लगेको नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्यो । कि विदेशी ऋण मिनाहा गर्नुपर्यो । आफ्नो अनुहार देखाउनका लागि जनतालाई दुःख दिन यिनीहरूलाई लाज लाग्दैन ? यिनीहरूको कारणले हिजो जनताले एकदमै दुःख पाए ।

जनताको आवाज राख्न सदन छैन ? सदनमा जनताको आवाज राख्न नसक्ने अनि सडकमा उत्रिएर जनतालाई दुःख दिने ? यस्ता ढोंगी अनुहारहरू जनताले चिनिराख्नुपर्छ । यिनीहरू ‘फटाहा’ हुन् भन्ने छर्लङ्ग भइसकेको छ । जनताले तिरेको कर खाने पनि लिङ्देन, जनतालाई दुःख दिने पनि लिङ्देन । अब यस्तो नौटङ्की बन्द गरौं । किनकि जनता आजित भइसकेका छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया