Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपीआर, नेपाली विद्यार्थीका कथा र अस्ट्रेलिया

पीआर, नेपाली विद्यार्थीका कथा र अस्ट्रेलिया


काठमाडौं ।
म बन्दना । सामान्य परिवारमा जन्मिएकी थिएँ । मेरा आमाबाबाको म एक्ली छोरी । म जम्नेपछि मेरा बाबाआमालाई खानलाउनसम्म पुग्ने भयो रे । घरमा लक्षिन ल्याएकी थिएँ रे मैले । उहाँहरूको म सपना थिएँ । अरु सन्तान जन्माउने उहाँहरूलाई कुनै इच्छा नै भएन ।

उहाँहरूले नमीठो खाएर भए पनि मलाई मीठो खुवाउनु भो । मलाई हुर्काउनुभो धेरै स्नेह र लाडप्यारले । प्लस टु सकेपछि म पनि मेरा बाआमाको सपना साकार पार्न अस्ट्रेलिया गएर अध्ययन गर्ने आफ्नो करिएर बनाउने पैसा कमाउने र देशमा थोरै भए पनि आफूले सक्दो सामाजिक योगदान दिने विचार गर्नथालेँ ।

हो, मलाई मेरो बाबाआमाले १८÷२० लाख खर्च गरेर पढ्न पठाउन सक्ने कुरा पनि थिएन । छात्रवृत्ति मिलाउनको लागि आईएलटीएसमा राम्रो स्कोर आउनु जरुरत थियो । मैले धेरै मिहिनेत गरेर सात दशमलव पाँच स्कोर आयो । एउटा कन्सलटेन्सको सहयोगमा मैले अलिकति छात्रवृत्ति पाएँ र बाँकी पैसा बाबाले ऋण लिनुभयो र म अस्ट्रेलिया गएँ । अस्ट्रेलियामा मेरा आमाका माइतीका कोही आफन्त थिए । हरि पनि अध्ययनकै लागि गएका थिए । मलाई उहाँकै जिम्मामा पठाइयो । म सिड्नी पुगेपछि उहाँसँग बस्न थालेँ ।

कलेज सुरु भएको थिएन । कोठा एउटा मात्रै थियो । अस्ट्रेलियाको समाज विल्कुलै फरक थियो । केही दिन त म आफैँ कन्फ्युज भए । हरि दिनभर काममा गएर फर्किन्थ्यो । म घरमा हुन्थेँ । ऊ भोकाएर आउँथ्यो । म उसलाई खाना बनाएर राख्थेँ । हामी बस्दै गयाँै एकले अर्कालाई बुझ्दै गयौँ । म एउटा साँघुरो चिन्तनबाट अलि फराकिलो मनस्थितिमा पुग्न थालेँ । हामीमा सबै कुरा सेयरिङ हुनथाल्यो । यसमा हरिको भूमिका अहम् छ ।

हामीबीच शारीरिक सम्पर्क पनि भयो । कलेज सुरु भयो । दिनको डेढ घन्टा रेलमा चढेर कलेज जानुपर्ने बाध्यताले गर्दा म तनावग्रस्त थिएँ । कलेजमा एक जना नेपाली भेटिए इन्द्र । नेपालीबीचको सम्बन्ध त्यति राम्रो भएको देखेकी थिइनँ मैले । कलेज टाढा भएको र उतै काम पनि पाएकोले मैले उतै बस्ने आशय व्यक्त गरेँ हरिसँग । हरि आफ्नो काममा व्यस्त थियो । उस्ले पनि सहमति दियो । म सामान लिएर उतै इन्द्रको कोठामा गएँ । किनकि त्यहाँ इन्द्रको आफ्नै केटीसाथी थिई । म धेरै मिहिनेतका साथ अध्ययन गर्न थालेँ । इन्द्र र उसको जापानीज केटीसाथी प्रेममा थिए । म भान्सामा सुत्थेँ । काम गर्थेँ । कलेज अध्ययन गर्थेँ । उता हरिसँग छुट्टिएर आएपछि मेरो महिनावारि रोकियो । हरिलाई फोन गरेर सुनाएँ । कि म यो बच्चा एबर्सन गरेर फाल्दिन्छु । तर बच्चा फाल्नका लागि दुवैको सहमति आवश्यक र कानुनी समस्या पनि रहेछ । हरिले बच्चालाई नफाल्नुमा हामी दुवैको कल्याण देख्यो । हरि म बसेको कोठामै आयो मलाई सम्झायो र गयो ।

यासिराको पढाइ सकियो । ऊ आफ्नै देश जापान फर्की । यासिरा जापान गएपछि इन्द्र र म मात्रै भयौँ अब त्यो अपार्टमा । जागिर र पढाइको कारणले पनि म त्यो ठाउँमा बस्न बाध्य भएँ । त्यहाँ जाँदा मिन्स रोकिएको भए पनि मिन्स भएको जानकारी दिएकी थिएँ मैले इन्द्रलाई । अस्ट्रेलियामा उसो त यो कुराको मतलब पनि हुँदैनथियो । यासिरा मिन्स बार्दिनथी । मेरो पेट बढ्दै गयो । इन्द्रले सोच्यो यो उसकै बच्चा हो भनेर । ऊ खुसीले दङ्ग प¥यो । ऊ आफैँ अस्ट्रेलियामा इलिगल भइसकेको थियो । बच्चाको माध्यमबाट उसले आफूलाई लिगलाइज गर्ने सपना देख्न थाल्यो र अस्ट्रेलियाको कानुनअनुसार मलाई कोर्ट म्यारिज गर्न दबाब दिँदै थियो ।

पहिलो सेमेस्टरमा कलेज टप भएँ । कलेज टप गर्दा मेरो पेटमा छ महिनाको बच्चा भइसकेको थियो । यहाँ समस्या के प¥यो भने इन्द्र यो पेट उसको भनेर दाबी गर्ने र हरि यो पेट मेरो हो भनेर दाबी गर्ने र मलाई मात्रै थाहा थियो यो कसको हो भनेर । बच्चालाई जन्माएँ । हुर्काएँ । धेरै मिहिनेत गरेँ । दुवैबाट अलग बसेँ । मेरो अध्ययनको कारण कलेजबाट पीआर एप्लाइ गरेँ केही महिनामा मेरो पीआर भयो ।

म इन्द्रसँग पनि बसिनँ र हरिसँग पनि बसिनँ । बच्चालाई स्याहार्नुपर्ने भयो । बिगत पाँच महिनादेखि बच्चाको कारण मैले काम गरिरहेको थिइनँ । कोठाभाडा र ग्रोसरी किन्नलाई समेत मलाई गाह्रो परिरहेको थियो । हरि र इन्द्र दुवैको सहयोग पाइरहेकी थिएँ । इन्द्रले सहयोग गरेको हरिलाई सह्यै हुँदैनथ्यो । म बीचमा थिएँ । दुवैले बच्चालाई आ–आफ्नो भनेर दाबी गरिरहेका थिए । इन्द्रमा पीआरको स्वार्थ थियो ।

एकदिन छोरा कोठामै खेल्दै थियो । म बाथरुममा कपडा धुँदै थिएँ । इन्द्र रुममा आएर बाबुलार्ई अपहरण शैलीमा छोरालाई उसको कोठामा लिएर गएछ । बाबु नदेखेपछि । म चिच्याएँ र हरिलाई फोन गरेँ । हरि आएपछि उसले प्रहरीलाई फोन ग¥यो । प्रहरी रुममा आयो । प्रहरीले आफूलाई शंका लागेको मान्छे कोही छ भने भन्नुस् भन्यो । मलाई इन्द्रप्रति शंका थियो तर भनिनँ । प्रहरीले रिपोर्टिङ लिएर गयो । हरि र म इन्द्रको रुममा गयौँ । बाबुलाई उसले लिएर गएको रहेछ । हामी त्यहाँ पुग्दा छोरा रोइरहेको थियो । छोरा पाएपछि म खुसी भएँ । हामी तीनबीच निकैबेर झगडा भयो । इन्द्रले मेरो छोरा मेरो अधिकार जिकिर गर्थ्यो । यता हरि मेरो छोरा हो भनेर दाबी गर्छ । अन्ततः डीएनए टेस्ट गर्नेसम्म कुरा भयो । मलाई इन्द्र देखेर घृणा लागेर आयो । त्यो दिन धेरै झगडा भयो हरि र इन्द्रका बीचमा । हरिले इन्द्रको बारेमा प्रहरीलाई रिपोर्टिङ ग¥यो । इन्द्र बच्चा हपहरणको कारण जेल प¥यो ।

मैले बच्चालाई अस्ट्रेलिया नराख्ने विचार गरेँ । हरिले उसैको कोठामा जाऊँ भन्यो । मैले आफ्नो स्वाभिमानको कारण पनि उसको रुममा जान मानिनँ । त्यही हप्ता म बाबुलाई लिएर नेपाल आएँ । व्याचलरमा राम्रो नम्बरमा पास गरेपछि अब मैले डिग्री पढ्नु जरुरी थियो । छोरा साथै भएपछि मैले करिअर अगाडि बढाउन नसक्ने देखेँ । हरि र इन्द्रको पनि बच्चाको कारण द्वन्द्व चर्किरहने देखेँ । त्यसैले उता बाबुआमाको अनुरोधमा म नेपाल गएँ भनेर आफ्ना साथीलाई अवगत गराएँ । त्यहाँ भएका सबै घटनालाई मैले अभिभावकलाई भनिरहेको थिएँ ।

नेपाल आएपछि मलाई अस्ट्रेलिया जाँदा लोन दिएर सहयोग गर्ने मेरा बाबाको साथी भेट्न् आएँ । उहाँको छोरा थिए । जो मेरा क्लासमेट पनि । तर मलाई थाहा थिएन बुबाले उसको बुबासँग सहयोग माग्नुभएको कुरा । लोन तिर्न बाँकी थियो या थिएन मलाई मेरो बाबाआमाले केही भन्नुभएन । कानुनीरूपमा मेरो कसैसँग बिहे भएको थिइनँ ।

अध्ययन गर्न जाँदा मलाई सहयोग गर्नेले मबाट सहयोग लिन चाहेछन् । एकदिन आमाबाबाले सम्झाउनुभो । छोरालाई यहीँ छोडेर अर्को केटासँग पेपर म्यारिज गरी म अस्ट्रेलिया जानुपर्ने भयो । ममाथि कसैले गरिदिएको उपकारको बदलामा मैले उपनिवेशसँग पेपर म्यारिज गरेँ ।

छोरा छोडेर हामी दुवै अस्ट्रेलिया गयौँ । उपनिवेशलाई मैले सँगै आफ्नै कोठामै लिएर गएँ । छोरा आमाबाबाको साथमा थियो । म ढुक्क थिएँ । उसको अति नै न्यास्रो लाग्थ्यो समय–समयमा । म डिग्री ज्वाइन भएँ । हप्ताको पाँच दिन काम गर्थेँ । उपनिवेश उता नेपालमा पढाइ छोडेर बिग्रेर बसेको रहेछ । उसले आफूलाई परिवर्तन गर्न सक्छु भन्ने विश्वासका कारण पनि मैले पेपर म्यारिज गरेर यहाँ ल्याइदिने मात्रै सर्त थियो । उसले काम पायो । पैसा कमाउन थाल्यो । थोरै समयमा उसले आफूलाई परिवर्तन गर्न सक्यो ।

देश, काल, समय र परिस्थितिसँगै ऊ परिवर्तन भयो । तर अब उसले मलाई बिस्तारै अंकुस लगाउन थाल्यो । मेरो निजी स्वतन्त्रतामाथि उसले आफ्नो हक कायम गर्न खोज्यो । म जता गए पनि उसले शंकाको नजरले हेर्न थाल्यो र पतिको हक देखाउन थाल्यो । तिम्ले मेरो नाउँमा सिन्दुरपोते लगाएर हिँड्न् पर्छ भन्नेसम्म कुराहरू गर्न थाल्यो । यो कुरा मलाई असह्य हुन्थ्यो । यसबीचमा हरिमा मैले व्यापक सुधार आएको पाएँ । ऊ कलेज जाँदैनथ्यो । लागुपदार्थ खान्थ्यो । रक्सी, खैनी, गुड्खा खान्थ्यो । अब ती कुराहरू छोडेर कलेज जान थालेको पाएँ । मलाई केही आपत् पर्दा उसले सहयोग गर्थ्यो । ऊ आफू पनि कन्फ्युजमा थियो कि छोरा उसको थियो कि थिएन भन्ने ।

म कति अभागी थिएँ जो पनि केटा साथी भेट्थेँ सबैको उद्देश्य अन्ततः पीआर र सेक्समै आएर जोडिन्थ्यो । सबैले आफ्नो देशलाई भुलेर अलिक कमाएका पैसा पनि उतै राम रमाइलोमा सकेका । सबै दुःखी देख्थेँ म । हप्ता–हप्तामा आउने स्यालरी हप्तान्तमै सक्थे प्रायले । कानुनीरूपमा उपनिवेश आफूलाई बलियो साबित गर्न चाहन्थ्यो र उसको लागि मैले पीआर एप्लाइ गरिदिन पर्छ भनेर जबर्जस्त गर्न थाल्दै थियो । म हरेक कुराबाट बचिरहेको थिएँ ।

मैले आफूलाई ऊबाट असुरक्षित महसुस गर्दै गएको थाहा पाएँ र कोठाबाट निकालेँ । ऊ अन्तै साथीकोमा गयो । उसको मुख्य उद्देश्य थियो मेरो नाउँबाट पीआर लिने । ऊभित्रको मुख्य सपना मात्रै पीआर लिने थियो । मैले ऊसँग डिभोर्स मागेँ । उसले दिन मानेन । पीआर लिएपछि मात्रै डिभोर्स दिन्छु भन्ने कुरा गर्न थाल्यो । हामीबीच झगडा र लफडा हुनथाल्यो । मलाई कोठामै आएर पनि धम्क्याउन थाल्यो ।

एकदिन मैले मोबाइलमा बैंक कार्डको पिन नम्बर लेखेकी थिएँ । उसले देखेको रहेछ । मेरो एटीएम कार्डबाट सबै पैसा निकालेछ सब साथी जम्मा गरेर रक्सी पार्टी गरेछ । दुई महिनाको स्यालरी जम्मा गरेको थिएँ । कलेज फि पनि तिर्नु बाँकी थियो । यी सबै घटनाबाट मैले ऊभित्र उजन्डता र गुन्डागर्दीबाहेक केही देखिनँ । अस्ट्रेलियाको कानुनमा हामी लोग्नेस्वास्नी थियौँ । तर व्यवहारमा पूर्ण एकआर्काका शत्रु भयौँ । जेलबाट फेरि इन्द्र पनि छुट्यो मलाई झन् तनाव हुनथाल्यो । म यो द्वन्द्वबाट कसरी मुक्ति पाउने भनेर सोचिरहेकी थिएँ ।

उपनिवेश पहिला आफूले गरेको सहयोगको कारण मैले उसको लागि जे पनि गर्नुपर्छ भन्ने भ्रममा थियो । त्यो भ्रम तोडिदिनु मेरो कर्तव्य पनि थियो । उसको अहंकारलाई अन्त्य गर्दै उसको बाँकी ऋण मैले तिरिदिएँ र आइन्दा मेरो पछि नलाग्ने सर्त गराउँदै डिभोर्स गराएँ । वकिल राखेर सबै पेपर मिलाइयो र एक प्रति पेपर नेपालको जिल्ला अदालत पनि पठाइयो ।

यो परिस्थिति कसरी जन्मियो यसको कारण भनेकी थिएँ मैले हरिलाई । मेरा हरेक आपत्विपत्मा हरि मेरो सहयात्री भएर आइरहेको थियो । जेलबाट निस्किएपछि इन्द्रले छोरा दाबी गरेर मैले छोरा बेपत्ता पारी भन्ने आरोप लगायो । छोरा उसैको हो भन्ने भ्रममा ऊ किन थियो भन्दा हरिकोबाट म इन्द्रकोमा जाँदा मेरो महिनावारी रोकिइसकेको थियो तर म इन्द्रकोमा जाँदा आफूलाई केही समय भए पनि बचाउन मैले पर सरेको बहाना गरेकी थिएँ । तर पछि परिस्थितिजन्य घटनाका कारण इन्द्र र मेरोबीच शारीरिक सम्बन्ध भएको थियो । जतिबेला मेरो मिन्स डेट नाघेको एक महिना भइसकेको थियो ।

सन्तान कसको हो आमा मात्रै त्यो गुप्त रहस्यको जानकार हुन्छे । हरि शान्त छ । ऊभित्र मैले मेरो जिन्दगीको लागि चाहिने खुसीको स्रोत देख्न थालेँ । इन्द्रमा स्वार्थ थियो । पीआरको सपना र मेरो यौवन अनि मेरो प्रगतिप्रति उसलाई लोभ थियो । पुरुष सम्झन्छन् आफूले सारीरिक सम्पर्क गरेपछि त्यो महिला सधैँको लागि उसको दासी भएर बस्नपर्छ । यो हरेक पुरुषको भ्रम हो ।

पहिलोचोटि मैले नेपालीहरूले आयोजना गरेको सांगीतिक स्टेज प्रोग्राममा भाग लिएको थिए । त्यो कार्यक्रममा मैले प्रस्तुति दिनु थियो । अरु थुप्रै नेपाली थिएँ । त्यो स्टेज प्रोग्राममा इन्द्र पनि सहभागी थियो । हरि र मैले एउटा नेपाली गीतमा सँगै नाच्यौँ । इन्द्रलाई त्यो कुरा असह्य भएको रहेछ । उसले स्टेजबाट नै मेरो श्रीमती मेरी छोराकी आमाले परपुरुषसँग मेरो अनुमति नै नलिई नाच्नु कति जायज हो भनेर सबलाई भन्यो ।

हरि र इन्द्रबीच द्वन्द्वको स्थिति खडा भयो । छोरा कसको हो भनेर दुवैले दाबी गरिरहेको त्यो परिवेशमा मैले छोरा जन्मिएको बेलामा नै क्युइन्स मेरी हस्पिटलमा हरि जो सहयोगी बनेर आएको थियो रगत दिन प¥यो भने काम लाग्छ भनेर ब्लड क्रसम्याच गराउँदा डीएनए परीक्षा गराइसकेको थिएँ र बच्चाको पिताको नाउँ हरि थापा भनेर प्रमाण लिएको थिएँ । यो कुरा हरिलाई पनि थाहा थिएन । हमेसा त्यो रिपोर्टलाई मैले आफ्नो व्यागमै हालेर हिड्थेँ । यसरी वर्षौँदेखिको एउटा मुद्दा र रहस्य मैले अन्त्य गरिदिएँ ।

पीआरको सपना देखेर छोरा दाबी गर्दै आएको इन्द्रलाई मैले राम्रैसँग भनिदिएँ स्टेजबाट नै । पीआरको सपनामा बाँचिरहेका तमाम नेपालीबीच मैले आफूले पाएको पीआर पनि त्यागेर आफ्नो पढाइ पूरा गरी केही समयपछि नेपाल नै फर्किन लागेको कुरा गर्दा उपस्थिति सबै नेपाली विद्यार्थीको ताली पाएँ ।

सबैले हरिको हात समातेर मेरो हातमाथि थमाए । हरिले पनि भन्नुभयो कि एउटा असल व्यक्तित्व निर्माणका लागि हामीले बन्दनाबाट नै सिक्नुपर्छ । अब यहाँको पीआरभन्दा पनि हाम्रै देश नेपालको प्यार पाउनका निम्ति हामी दुवै नेपाल जाने योजना बनाएका छौं । यहाँ शिक्षा आर्जन गर्ने नेपालमै गएर यो शिक्षाको उपयोग गर्ने ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया