Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारी सञ्चालकलाई कठोर सजाय माग गर्दै प्रदर्शन

सहकारी सञ्चालकलाई कठोर सजाय माग गर्दै प्रदर्शन


ठगी गर्ने सहकारीका सञ्चालकहरूलाई कठोर सजाय माग गर्दै सहकारीपीडितहरूले आइतबार प्रदर्शन गरेका छन् । दर्जनौँ सहकारीमार्फत ठगीमा परेका पीडितहरूले सहकारी सञ्चालकलाई कठोर सजाय माग गर्दै आइतबार बिहान माइतीघर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।सहकारीपीडितहरूले ‘इच्छाराज, केशवलाल गिरोहलाई कठोर सजाय दे, सजाय दे’, ‘संगठित अपराधीलाई कारबाही होस्’, ‘सहकारीको पाराले दुःख पाए साराले’, ‘नेपाल सरकार पीडितलाई न्याय दे’, ‘हाम्रो बचत फिर्ता गर’ लगायतका ‘प्ले कार्ड’ बोकी प्रदर्शन गरेका थिए ।

फरार, बन्द बचत तथा ऋण सहकारी सञ्चालक समिति, कर्मचारी उनका परिवार आफन्त नातागोता र सञ्चालकको तीनपुस्ते सम्पत्ति तत्काल रोक्का गर्न पनि माग गरेका छन् । यस्तै सहकारी सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्न र सहकारी ऐन संशोधन गर्न पनि माग गरेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएकोे थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । केही समय सो क्षेत्रको यातायात समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरूले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि १८ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
जेठ २० गतेदेखि माइतीघर मण्डलामा सहकारीविरुद्ध विरोध तथा प्रदर्शन गर्दै आएका सहकारीपीडित बचतकर्ता महासंघ सघर्ष समितिले आइतबार पुनः प्रदर्शन गरेको हो । आन्दोलित सहकारीपीडित बचतकर्ताहरूको विरोध तथा धर्ना कार्यक्रमलाई निरन्तरता दिने क्रममा प्रदर्शन गरिएको समितिका संयोजक काठमाडौं मूलपानीका हरिषचन्द्र श्रेष्ठले बताए ।

आफूले दुःख गरी कमाएको रकम लिएर सहकारी सञ्चालकहरू फरार हुँदा समेत सरकारले सहयोग नगरेको पीडितहरूको गुनासो छ । सहकारीमा राखेको बचत रकम फिर्ता पाउने निश्चित नहुँदा प्रदर्शनलाई निरन्तरता दिएको संयोजक श्रेष्ठले बताए । सहकारीले बचतकर्ताहरूको अर्बौँ रकम ठगी गर्दा पनि सरकारले त्यसको समाधान गर्न सकेको छैन ।

सरकार तथा कर्मचारीहरू पीडितभन्दा पनि सहकारी सञ्चालकहरूको पक्षमा आफ्नो भनाइ सार्वजनिक गर्दैै आएका छन् । सहकारीले गर्दा हजारौँ सदस्यहरू पीडित हुँदा समेत राष्ट्रिय सहकारी बैंकका अधिकारीहरू पहिला सहकारी बचाउनुपर्ने बताउँदै आएका छन् । सहकारी बचाए मात्रै समस्या समाधान हुने भन्दै अधिकारीहरू सहकारीपीडितभन्दा पनि सहकारी सञ्चालकहरूको पक्षमा उभिएका छन् । पछिल्लो समय शिवशिखर बहुउद्देश्यीय तथा तुलसी बहुमुखी सहकारी, सुमेरु सेभिङ एण्ड क्रेडिट, प्रस्परस बचत तथा ऋण, गौतमश्री बहुउद्देश्यीयका साथै सिभिल, भेगासलगायतका दर्जनौँ सहकारीहरूले बचतकर्ताको बचत फिर्ता दिन नसकेर समस्यामा परेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया