Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिझरीले आलु भित्र्याउन सकस

झरीले आलु भित्र्याउन सकस


सोलुखुम्बु । निरन्तरको झरीले सोलुखुम्बुको पहाडी भेगका किसानलाई आलु भित्र्याउन सकस परेको छ । खन्ने बेला भएको आलु झरीका कारण भित्र्याउन नपाएपछि किसान चिन्तित बनेका हुन् । सो क्षेत्रमा पुस र माघ महिनामा रोपेको आलु असारमा भित्र्याउने गरिन्छ । तर यस वर्ष लगातारको वर्षाले बारीमा फलेको आलु भित्र्याउन नसकिएको सोलुखुम्बु लोदिङका पासाङ शेर्पाले बताए ।

उनले भने, ‘आलुको बिजोग भयो, बारीमा त फलेको जस्तै छ तर के गर्नु खन्न नपाउँदा बिग्रिएर गयो, वर्षभरिको दुःख खेर जाने भयो, दिन उग्रिने छाँटकाँट छैन ।’ सोलुखुम्बुको १० हजार एक सय २९ हेक्टर जमिनमा आलु खेती हुँदै आएको छ । अन्य वर्षको तुलनामा यस वर्ष आलु राम्रै फलेको भए पनि खन्ने बेला झरी बाधक बन्दा कुहिने खतरा बढेको सोलुखुम्बु टाक्टोरकी प्यारी माया विश्वकर्माको चिन्ता छ ।

‘पोहोरभन्दा यो वर्ष अलिक बढी आलु फलेको थियो तर खन्ने बेलामा मौसमले साथ दिएन, अब हुँदै भएन् भने बारीमै पाल टाँगेर खन्ने योजना छ, अरु उपाय नै छैन त, किसानलाई जताबाट पनि समस्यैसमस्या छ ।’ विश्वकर्माले भनिन् ।

माथिल्लो भेगको मुख्य बालीको रूपमा रहेको आलु यो वर्ष भित्र्याउने समयमा निरन्तर पानी परेपछि किसान समस्यामा परेका हुन् । केही किसानले वर्षाकै समयमा खनेर भित्र्याएको आलु कुहिएर जान थालेको छ । भित्र्याउने बेलाको आलु लामो समय बारीमै राख्दा किरा लाग्ने, कुहिनेजस्ता समस्या आउन सक्ने भएकाले खनेर घाम नलाग्ने र हावा आउने ठाउँमा सुकाएर भण्डारण गर्न कृषि ज्ञान केन्द्रका कार्यालय सोलुखुम्बुका प्रमुख दुर्गाबहादुर तिरुवाको सुझाव छ ।

घाम लाग्ने ठाउँमा राख्दा आलु हरियो हुने भएकाले हावा छिर्ने ठाउँमा भण्डारण गर्नु उपयुक्त हुने उनको भनाइ छ । जिल्लामा औसतमा बर्सेनि १६ लाख मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुँदै आएको छ । पहाडी भेगका कतिपय किसानको मुख्य बाली नै आलु भए पनि भित्र्याउने बेला मौसमले साथ नदिँदा वर्षभरको मेहनत खेर जाने हो कि भन्ने चिन्ताले सताउन थालेको किसानहरूको गुनासो छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया