Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिआलु खेतीबाट राम्रो आम्दानी

आलु खेतीबाट राम्रो आम्दानी


दोलखा । दोलखामा एक अवकाशप्राप्त शिक्षिकाले गरेको आलुखेतीले मनग्य आम्दानी गरेको छ । वैतेश्वर गाउँपालिका–१ की शान्तिकुमारी तामाङले विद्यालयबाट अवकाश भएपछि सुरु गरेको खेतीले मनग्य आम्दानी गरेको उनले बताएकी छन् ।

गत सालदेखि सुरु गरेको आलु खेतीबाट उनले करिब १३ लाख रुपैयाँ बराबर कमाई गरेकी उनले बताएकी छन् । उनका अनुसार गत साल आलु बेचेर छ लाख रुपैयाँ आम्दानी भएको थियो । पहिलो वर्ष भएकाले राम्रो व्यवस्थापन हुन नसकेर सोचेजति आम्दानी गर्न नसकेको उनले बताइन् । यसपालि भने सोचेअनुसार नै कमाई भएको उनको भनाइ छ । ‘गतवर्ष आलुको बीउ पनि किन्नु परेकाले थोरै आम्दानी भयो तर यसपालि बिउ किन्न परेन’, उनले भनिन् ।

उत्पादनको ७० प्रतिशत आलु बीउको लागि राख्ने गरेको उनले सुनाइन् । यस्तै, आफूले रोपेर बाँकी रहेको बीउको आलु पनि प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको बताइन् । तामाङले ६५ रोपनी जग्गामा आलु खेती गरेकी छन् । यहाँ बङ्गुर र गोठेमल मात्र प्रयोग गर्ने गरिएको छ । अर्गानिक भएकाले आलुको माग बढिरहेको उनले बताइन् ।

उनले शान्ति कृषि तथा अलैँची फार्म दर्ता गरेकी छन् । उनले प्रतिरोपनी वार्षिक १२ सय रुपैयाँमा जग्गा भाडामा लिएको बताइन् । यहाँको आलु रामेछाप र काठमाडौंमा लाने गरिएको छ । प्रतिकिलो २५ रुपैयाँमा बारीबाटै व्यापारीले लैजाने उनले बताइन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया