Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीमा १७ अर्बभन्दा बढी घोटाला, ३९ जना पक्राउ

सहकारीमा १७ अर्बभन्दा बढी घोटाला, ३९ जना पक्राउ


गत आर्थिक वर्षमा मात्र सहकारी संस्थाहरूमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम घोटाला भएको देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार आफ्नो वार्षिक अपराध अनुसन्धान प्रगति समीक्षा २०७९/८० सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । सीआईबीप्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार आव २०७९/८०मा आर्थिक अपराध अनुसन्धानको सिलसिलामा सहकारी ठगी–२, ठगी–४, लिखत–१ र भीओआईपी दुईवटा गरी कुल आठवटा मुद्दा दर्ता भई ३९ जनालार्ई पक्राउ भएका छन् । यसरी पक्राउ भएकामध्ये सहकारी ठगीअन्तर्गत शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाभित्रका विभिन्न शाखाहरूमा निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेको करिब १२ अर्ब र अन्य वित्तीय संस्थाको करिब पाँच अर्ब रकम र सोको ब्याज अपचलन गरेको देखिएको सीआईबीप्रमुख बज्राचार्यले जानकारी दिइन् ।

यी सहकारी संस्थाहरूले विभिन्न व्यवसायहरूमा ‘सहकारी ऐन, २०७४’ र ‘सहकारी नियमावली, २०७५’ को प्रावधानविपरीत कर्जा प्रवाह गराई सहकारी संस्थाको लगानीमा सञ्चालित विभिन्न व्यवसायहरूबाट प्राप्त हुनुपर्ने रकम समेत सहकारीको खातामा प्राप्त नगरी ठगी गर्ने कार्यमा संलग्न शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सात जनालाई विभिन्न मितिमा पक्राउ गरी आवश्यक कारबाही गरिएको पनि सीआईबीले जनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७९÷८०मा नै पृथ्वीबहादुर शाहको ठगी एवं आपराधिक कार्यअन्तर्गतको ठगीसम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा दर्जनौँ कम्पनीहरूका नाममा शंकास्पद कारोबार देखिएको र सम्बन्धित निकायहरूबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरू सञ्चालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उद्देश्यभन्दा फरक प्रकृतिका कार्यहरू गरेको सीआईबीले जनाएको छ । यस्तै, अमेरिकी नागरिकहरूको कम्प्युटरमा पहुँच पु¥याई एन्टी भाइरस नवीकरणबापतको रकम पठाउनू भनी झुक्याई खाताबाट अमेरिकी डलर ट्रान्सफर गरेको र अन्य विदेशी नागरिकहरूलाई समेत झुक्याएर बेइमानीपूर्वक वा स्क्याम गरी स्वीफ्टमार्फत करिब ४६ लाख ४६ हजार सात सय ३७ अमेरिकी डलर, जीबीपी १९ हजार आठ सय २५ र क्यानडियन तीन लाख ४० हजार डलर रकम प्राप्त गरेको देखिएको छ । गैरकानुनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले ठगी गरी प्राप्त रकम निजले सञ्चालन गरेका विभिन्न कम्पनी, व्यक्ति तथा संस्थाहरूको खातामा ट्रान्सफर गरी ठगी गरी प्राप्त भएको रकम लिने र खाने कार्यमा संलग्न पृथ्वीबहादुर शाह समेत आठ जना व्यक्तिहरूलाई २०७९ पुस २२ मा काठमाडौंबाट पक्राउ गरी कानुनी दायरामा ल्याइएको सीआईबीले जनाएकोे छ ।

सीआईबीले आर्थिक वर्ष २०७९÷८०मा लिखत, ठगी, वैदेशिक रोजगार, नागरिकता ऐन कसुरअन्तर्गत १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।यस्तै ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जना प्रतिवादीहरूलाई २०८० असार १२ गतेदेखि विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान गरिरहेको पनि सीआईबीले जनाएको छ ।

अदालतबाट सजाय ठहर भई फरार रहेका एक सय २५ जनालाई पक्राउ गरी ३० करोड छ लाख ४८ हजार एक सय १४ रुपैयाँ र एक सय २९ वर्ष एक महिना २४ दिन कैद सजाय फछ्र्यौटको लागि अदालत बुझाइएको पनि सीआईबीप्रमुख बज्राचार्यले जानकारी दिएकी छिन् । यसअन्तर्गत ज्यानसम्बन्धी कसुरमा पाँच जना, जबर्जस्ती करणी कसुरमा पाँच जना, बैंकिङ कसुरमा एक सय पाँच जना र अन्य शीर्षकमा १४ जना रहेका छन् । आर्थिक वर्ष २०७९÷८० मा १० वटा शीर्षकमा ४३ वटा मुद्दा दर्ता हुँदा एक सय २५ जना पक्राउ परेका छन् । यसअन्तर्गत ठगी, आपराधिक लाभ तथा विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसुरअन्तर्गत २६ वटा मुद्दा दर्ता भई ७५ जना पक्राउ परेका छन् । जुवासम्बन्धी दुईवटा मुद्दामा ११ जना पक्राउ परेका छन् ।

नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरअन्तर्गत एउटा मुद्दामा एक जना पक्राउ परेका छन् भने संगठित अपराध (सुन चोरी पैठारी) सम्बन्धी दुई जना पक्राउ परेका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुरअन्तर्गत एउटा मुद्दामा तीन जना पक्राउ परेका छन् । यसैगरी दूरसञ्चार हानी नोक्सानी (भीओआईपी) अन्तर्गत दुईवटा मुद्दामा १४ जना, सहकारी ठगीअन्तर्गत आठवटा मुद्दामा १८ जना, लिखतसम्बन्धी कसुरको एउटा मुद्दामा एक जना र नेपाल राष्ट्र बैंक ऐन, २०६८ अन्तर्गतको एउटा मुद्दामा एक जना पक्राउ परेका छन् । यस अवधिमा बैंकिङ कसुरसम्बन्धी भने एउटा मुद्दा दर्ता भएको सीआईबीप्रमुख बज्राचार्यले जानकरी दिइन् ।


क्याटेगोरी : सहकारी–कृषि


तपाईको प्रतिक्रिया