Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिड्रागन फल्न थालेपछि तामाङ दङ्ग !

ड्रागन फल्न थालेपछि तामाङ दङ्ग !


दोलखा । रोपेको दुई वर्षमै ड्रागन फल्न थालेपछि दोलखाका एक किसान दंग परेका छन् । जिल्लामै पहिलोपटक भिन्न र नयाँ खालको सिउँडी प्रजातिको ड्रागन फलको खेती सुरु गरेका ६९ वर्षीय मानबहादुर तामाङ हिजोआज फार्म वरपर मनै लोभ्याउने गरी फुल्दै र फल्दै गरेका ड्रागनको बोट देखेर दङ्ग छन् । तामाङले दुई वर्षअगाडि बैतेश्वर गाउँपालिका–६ नाम्दुमा ड्रागन खेती सुरु गरेको थिए ।

२४ महिनाको अवधिमै मनै लोभ्याउने गरी फलेका फल हेर्दै तामाङ भन्छन्, ‘यस्तो सुख्खा पाखोमा ड्रागन होला र भन्नेहरू नै दैनिक फार्ममा ड्रागन फुलेको र फलेको हेर्न आउँदा आफैँलाई अचम्म लाग्ने रहेछ ।’ सुरुवातको समयमा उनले परीक्षणका लागि मात्रै ५०/६० वटा ड्रागन लगाएका थिए । सो ड्रागन फलेपछि उनले व्यावसायिक खेती गर्ने योजना बनाएर आठ रोपनीमा लगाइएको जानकारी दिए ।

हाल उनको फार्ममा रहेका सबै ड्रागन फल्न थालेको छ । उनले तामाकोशी बहुउद्देश्यीय कृषि फार्म नै दर्ता गरेका छन् । ड्रागनबाट यसवर्ष करिब पाँच लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको तामाङले बताए । परम्परागत खेती गर्दै आइरहेका किसानलाई आधुनिक प्रजातिका फलफूल खेती गरेर व्यावसायिक र आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण दिन आफूले ड्रागन खेती सुरु गरेको तामाङ बताउँछन् ।

केही वर्ष अघिसम्म रातोमाटोले भरिएको सुख्खा बाँझो देखिने पाखोबारी हिजोआज फल्ने र फुल्ने तरखरमा रहेका ड्रागनका बोटले वरपरलाई समेत हरियाली र हराभरा बनाएको छ । तामाङको फार्ममा हाल दुई हजार चार सय वटा ड्रागनको बिरुवा छन् । यहीँ खेतीको लागि उनले हालसम्म २६ लाख रुपैयाँ लगानी गरेको बताए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया