Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिभारतबाट ५१ करोडको कोदो आयात

भारतबाट ५१ करोडको कोदो आयात


झापा । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनैबेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथि नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार रूपैयाँ बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ । यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा १९ करोड ८३ लाखको १२ हजार तीन सय ९९ रूपैयाँ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा ३१ करोड ९८ लाख रूपैयाँ बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार रूपैयाँको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार रूपैयाँ बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए ।

पूर्वीनाकाबाट सोही अवधिमा ८० करोड ९९ लाख ८४ हजार रूपैयाँको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार रूपैयाँ बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, दुई करोड ७१ लाख ५२ हजार रूपैयाँको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, चार करोड ९८ लाख रूपैयाँको तीन हजार एक सय १३ मेट्रिक टन लौका, तीन करोड १० लाख रूपैयाँ बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र तीन करोड ४० लाख ९६ हजार रूपैयाँको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्याङ्क छ ।

सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा ४४ लाख ८० हजार रूपैयाँको एक सय १२ मेट्रिक टन फापर, छ करोड ६६ लाख ६६ हजार रूपैयाँ बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र ३४ लाखको पानको पात भारतबाट आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा १७ करोड ३१ लाख २० हजारको चार हजार तीन सय २८ मेट्रिक टन चामल र १७ करोड २८ लाख २४ हजार रूपैयाँ बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजासमेत भारतबाट आयात गरिएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रूपैयाँको तरकारी र फलफूल आयात गरिएको छ । तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रूपैयाँको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार रूपैयाँको फलफूल आयात गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाको भनाइ छ । उनका अनुसार संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको छ । इलाम नगरपालिका–१२ की तुलसा रायाले करिब एक ट्रक फर्सी बिक्री नभएपछि गाईवस्तुलाई खोले खुवाएको बताइन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया