एउटै गाउँबाट एक करोड १५ लाखको आलु बिक्री
सोलुखुम्बु । दोलखाको बैतेश्वर गाउँपालिका–८ को एवो गाउँबाट वार्षिक एक करोड बढीको आलु उत्पादन तथा निर्यात हुने गरेको छ । कुल एक सय १२ घरधुरी रहेको एवोका सबै स्थानीय आलु खेतीमा संलग्न छन् ।
आलु पकेट क्षेत्रको रूपमा रहेको एवोबाट वार्षिक एक करोड १५ लाख रुपैयाँ बराबरको आलु जिल्ला बाहिर निर्यात हुने गरेको वडाध्यक्ष शान्त जिरेलले बताए । यहाँका किसान यतिबेला आलु खन्ने काममा व्यस्त रहेका छन् । यहाँको किसानको आम्दानीको मुख्य स्रोत नै आलु खेती रहेको स्थानीयको भनाइ छ । भौगोलिक हिसाबले पनि बैतेश्वर गाउँपालिकाकै ठूलो र दुर्गम मानिने एवोका स्थानीयले प्रतिघर न्यूनतम ५० हजारदेखि ४ लाख रुपैयाँसम्मको आलु बिक्री गर्दै आएको जिरेलले बताए । स्थानीय सीता कार्कीले यस वर्ष ८० हजार रुपैयाँ बराबरको आलु बिक्री गरेको बताइन् । उनले गत वर्ष ४० हजार रुपैयाँ बराबरको आलु बिक्री गरेकी थिइन् । यो वर्ष मौसमले साथ दिएका कारण गत वर्षको तुलनामा राम्रो आलु उत्पादन भएकाले आम्दानी पनि बढ्ने उनको अनुमान छ ।
त्यस्तै, सोही गाउँका अर्का स्थानीय कृष्णबहादुर कार्कीले पनि यस वर्ष आलु उत्पादनमा वृद्धि भएको बताए । उनी गाउँमै सबैभन्दा धेरै आलु फलाउने र बिक्री गर्नेमध्येका एक हुन् । उनले गत वर्ष दुई लाख रुपैयाँको आलु उत्पादन गरेर बिक्री गरेका थिए । यस वर्ष पनि उनले तीन लाख ५० हजार रुपैयाँ बराबरको आलु बिक्री गर्ने अनुमान गरेका छन् । गत वर्ष एक करोड बराबरको आलु उत्पादन गरेर दोलखाबाहिर पठाएका यहाँका स्थानीयले यस वर्ष उत्पादन वृद्धि भएकाले डेढ करोड बराबरको आलु निर्यात गर्न सकिने बताएका छन् । कुल एक सय १२ घरमध्ये तीन लाख बढीको आलु उत्पादन गर्ने १२ जना किसान रहेका छन् । त्यस्तै, एक लाखदेखि दुई लाखसम्मको आलु बिक्री गर्ने किसानको संख्या ६० जना रहेको वडाध्यक्ष जिरेल बताए । त्यसैगरी ३० हजारदेखि एक लाखसम्मको आलु बिक्री गर्नेहरू संख्या ३० देखि ३५ जना रहेको वडाध्यक्ष जिरेलको भनाइ छ ।
साउनदेखि भदौसम्म एवोको आलु राजधानी काठमाडौंमा र झापामा निर्यात हुने गरेको स्थानीय आलु व्यवसायी हरिबहादुर कार्कीले बताए । उनले एवोमा उत्पादन भएको आलु संकलन गरी जिल्लाबाहिर निर्यात गर्ने गरेका छन् । यसवर्ष मात्रै करिब १० टन आलु बिक्री गरिसकेको उनले बताए । स्थानीय किसानको बारीमै पुगेर प्रतिकेजी ३० रुपैयाँमा उनले आलु किन्ने गरेका छन् । गाउँमा आफूजस्तै आलु संकलन गरेर बिक्री गर्न लैजाने अन्य थुप्रै व्यवसायी रहेको उनले बताए । दैनिक साना बोलेरोले ५÷७ टिप आलु यहाँबाट बजारमा ओसार्ने गरेको उनले बताए । व्यवसायीले झापा लाने आलु ४० केजीको बोरामा प्याकिङ गरेर लाने गरेका छन् भने काठमाडौंलगायतका बजारमा ५० देखि ६० केजीको बोरामा प्याकिङ गरेर लाने गरेका छन् । एवोबाट मात्रै वार्षिक एक करोड १५ लाखको हाराहारी दोलखाबाहिर आलु निर्यात हुने उनको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया