Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि कर्मले सिकाएको पाठ, ‘जहाँ मिहिनेत र लगनशीलता, त्यहीँ सफलता’

कृषि कर्मले सिकाएको पाठ, ‘जहाँ मिहिनेत र लगनशीलता, त्यहीँ सफलता’


दैलेख । दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ७ कुसापानी (शिम्शेर)का डिलु गूरुङ पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा व्यस्त छन् । आर्थिक अभावका कारण केही वर्षअघि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने योजना बनाएका उनी कोरोना महामारीका कारण रोकिएपछि गाउँमै व्यावसायिक तरकारी खेतीमा होमिएका हुन् ।

आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ तरकारी खेती सुरु गरेका डिलुले अहिले बारीमा लटरम्म टमाटर फलाउनुका साथै काउली, आलु, बन्दा, सागसब्जीलगायतका तरकारी खेती गरिरहेका छन् । ‘केही समयअघि घरको लागि पनि बाहिरबाट किनेर खान्थ्यौँ, अहिले आफैँ तरकारी फलाएर बेच्ने पनि गरेका छौँ’, डिलु भन्छन्, ‘त्यही तरकारी बेचेको पैसाले सहजै घरखर्च चलाउन सफल भएको छु ।’ तरकारी बेच्न उनलाई अहिले बजारको कुनै समस्या छैन । ‘गाउँमा फलाएको तरकारी घरबाटै बिक्री भइरहेको छ । आम्दानी पनि राम्रै भइरहेको छ । बीएडसम्म अध्ययन गरेका उनी भनेजस्तो काम नपाएपछि गाउँमै व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका हुन् । मिहिनेत गरेपछि आफ्नै गाउँठाउँमा प्रशस्त सम्भावनाहरू रहेको बताउँदै उनले भने, ‘जहाँ मिहिनेत र लगनशीलता, त्यही सफलता ।’

उनी एक उदाहरणीय पात्र मात्रै हुन्, डिलुजस्तै टोलका अन्य दर्जन बढी कृषकहरू अहिले व्यावसायिक तरकारी खेती गर्न थालेका छन् । व्यावसायिक तरकारी खेतीका लागि अहिले पालिका र ग्रामीण जलस्रोत परियोजना नामक संस्थाले विभिन्न सहयोग गर्न थालेपछि यहाँका अन्य कृषकहरू पनि व्यावसायिक तरकारी खेतीमा आर्कषित भएको डिलुुले बताए । अधिकांश युवाहरू अझै पनि रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा रहेको बेला कुसापानीका कृषकहरू भने गाउँमै तरकारी खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । उक्त गाउँमा भैरवी गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनालगायतका संघ–संस्थाले स्वच्छ खानेपानीका धारा, सिँचाइ पोखरी, टनेललगायत सहयोग गरेको छ । सहयोग पाएपछि यहाँका स्थानीय सक्रियरूपमा व्यावसायिक कृषिमा अग्रसर बनेको स्थानीय मानबहादुर बरालले बताए । तरकारी व्यवसायबाटै सबै खर्च धानेर बचत समेत गर्नेगरेको बराल बताउँछन् ।

यस्तै सोही गाउँकी सिता गुरुङले पनि आफ्नो घरछेउमै रहेको करेसाबारीमा तरकारी खेती गर्दै आएकी छिन् । काउली, टमाटरलगायतका विभन्न प्रजातिका तरकारी फलाएर राम्रो आम्दानी गरेको उनले बताइन् । आफ्नै गाउँमा रोजगारीका अवसरहरू सिर्जना भए कुनै पनि नेपाली नागरिक रोजगारीको लागि भौतारिनु नपर्ने उनी बताउँछिन् । युवाहरूलाई विभिन्न सीपमूलक तथा व्यावासायिकतामा जोड्न स्थानीय सरकारले पनि जोड दिनुपर्ने उनको भनाइ छ । साथै स्थानीयहरूले आत्मनिर्भर बन्नको लागि अग्रसरता देखाइरहेका युवा तथा महिलाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पालिकाभित्रका किसानहरूलाई प्रोत्साहनका लागि गाउँपालिकाले कृषि र पशुपालनजस्ता व्यवसायलाई महत्व दिएको जानकारी दिए । कृषि कार्यक्रमअन्तर्गत भैँसीपालन, गाईपालन, डेरी सञ्चालनजस्ता व्यवसायमा पालिकाले विशेष ध्यान दिएको उनको भनाइ छ । यस्तै तरकारी तथा फलफूल खेतीका लागि पनि महत्वका साथ काम गरिरहेको उनले सुनाए । कृषि र पशुपालनजस्ता व्यवसायको लागि गाउँपालिकाले कृषि विकास कार्यालय र पशु सेवा कार्यालयसँग समन्वय गर्दै अघि बढिरहेको उनले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x