Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिजनयुद्धमा आँखा गुमाएका दाहाल व्यावसायिक कृषि खेतीमा व्यस्त

जनयुद्धमा आँखा गुमाएका दाहाल व्यावसायिक कृषि खेतीमा व्यस्त


दोलखा । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धमा सशक्त घाइते भएका बैतेश्वर मिर्गेका राजकुमार दाहाल यतिबेला कृषि व्यवसायमा व्यस्त छन् । लामो समय माओवादी पार्टीमा लागेका उनी हाल राजनीति छाडेर व्यावसायिक कृषिमा लागेका हुन् ।

२०५९ सालदेखि माओवादी जनयुद्धमा होमिएका उनको २०६१ सालमा सर्लाहीमा भएको दोहोरो सडक भिडन्तमा दाइने आखाँ फुटेको थियो । साथै देब्रे खुट्टा र देब्रे हातमा गहिरो चोट लागेको उनले बताए । आफ्ना महत्वपूर्ण शरीरका अंगहरू आँखा, हात र खुट्टामा चोट लागेका कारण उनी लामो समय केही आराम गरेर बसेका थिए । शान्ति सम्झौतापछि उनको पार्टी पटक–पटक सरकारमा गयो, पार्टीबाट दुई जना नेता प्रधानमन्त्री समेत बने । तर जनयुद्धका घाइते दाहाललाई न सरकारले सहयोग ग-यो न त पार्टीले नै । घर धान्न नै मुस्किल भएपछि उनी व्यावसायिक खेतीमा लागेका हुन् । उनले तीन वर्षअघिदेखी यस पेसामा लागेको सुनाए । सुरुमा उनले आफ्नो छ रोपनी जग्गामा रुखटमाटर खेती गरेका थिए । टमाटर खेतीबाट राम्रो आम्दानी भएपछि उनले बाख्रापालन पनि गरे । तर बाख्रापालबाट भने उनले सोचेजस्तो आम्दानी लिन नसकेको सुनाए । रोगका कारण बाख्रा मरेर उनलाई लगानी उठाउन नै धौधौ परेको थियो । बाख्राबाट खासै फाइदा नभएपछि उनी बाख्रा पालन छोडेर अहिले टमाटर र अन्य मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेका छन् ।

दाहालले सेतिदेवी कृषि फार्म नै दर्ता गरेर अहिले तरकारी खेती गरिरहेका छन् । सुरुमा चार लाख रूपैयाँको लगानी गरेर यस क्षेत्रमा प्रवेश गरेको उनी सुनाउँछन् । टमाटरको मुख्य सिजनमा उनले करिब दुई लाखबराबरको टमाटर मात्रै बिक्री गरेको बताए । त्यस्तै भर्खरै गाउँकै खाली जग्गामा सातवटा टनेल हालेर बेमौसमी तरकारी खेती सुरु गरेको उनले सुनाए । उनले हाल तीन रोपनी जग्गामा रुखटमाटर लागएका छन् ।

दाहालले आफू कृषि खेतीमा लागेर आम्दानी गर्न सफल भए पनि आफूसँगै माओवादी आन्दोलन हिँडेका धेरै घाइतेको अवस्था नाजुक रहेको सुनाए । घाइतेहरूलाई हातमुख जोड्न समस्या पर्दा समेत माओवादीका नेताहरूले चासो नदेखाएको उनले असन्तुष्टि जनाए । माओवादीबाट चुनाव जितेका जनप्रतिनिधिले समेत घाइतहरूको बेवास्ता गरेको उनी सुनाउँछन् । जनप्रतिनिधिले उनीहरूलाई स्वरोजगार बन्न अनुदान दिनुपर्ने उनको भनाइ छ । देशमा गणतन्त्र ल्याउन पटक–पटक यातना खेपेका उनी अहिले भने राजनीतिबाटै टाडा रहेर आफ्नै जन्मथलोमा कृषि व्यवसाय गरी परिवारसँग रमाइरहेका छन् । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x