Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिवाणिज्य बैंकहरूले ब्याज बढाए मात्रै सहकारीको सन्दर्भ ब्याज बढ्ने

वाणिज्य बैंकहरूले ब्याज बढाए मात्रै सहकारीको सन्दर्भ ब्याज बढ्ने


काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले वाणिज्य बैंकहरूले ब्याज बढाए मात्रै सहकारीको सन्दर्भ ब्याज बढ्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन), राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सहकारी क्षेत्रको समसामयिक विषयमा आइतबार आयोजित कार्यक्रममा उनले सहकारीको सन्दर्भ ब्याजदर १४ दशमलव ७५ प्रतिशत हुँदा पनि सहकारीहरूले ११/१२ प्रतिशतमै कर्जा लगानी गरेको बताए । ‘त्यतिखेर तरलताको सहज अवस्था थियो, तर, अहिले असहज अवस्थामा पनि सहकारीले १६ प्रतिशतमा दिएका छन्, बैंकहरूले नै १६ प्रतिशतमा दिएको विषय हामी सुनिरहेका छौँ,’ उनले भने ।

यस्तै उनले दिनप्रतिदिन सहकारीमा आकर्षण बढेकोले अब यसको विश्वसनीयतालाई थप बढाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट लागि पर्नुपर्ने बताए । यस्तै, महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सहकारी अभियान यथार्थपरक ढंगले लाग्नुपर्ने बताए । उनले सहकारीहरूले वाणिज्य बैंकको एकाधिकार तोडेको पनि बताए । ‘विगतका दिनहरूमा सर्वसाधारणले वाणिज्य बैंकबाट ऋण पाउन सक्ने अवस्था थिएन, हुनेखानेले मात्रै ऋण पाउँथे, जब सहकारीहरूले आफ्नो काम सुरु गरे अहिले वाणिज्य बैंक ऋण लिइदिनु प-यो भनेर घरमै आउँछन्, यो वातावरणको सिर्जना सहकारीले गरेको हो’, उनले भने । महासंघका सञ्चालक डीबी बस्नेतले सहकारी मूल्यमा आधारित सेवा भएकोले महासंघले मूल्यमा आधारित सेवा बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा दुई विषयमा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । सहकारी अभियानको तर्फबाट राष्ट्रिय राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी सुब्बा र सिजेएनको तर्फबाट सिजेएनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार खिलानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै महाप्रबन्धक सुब्बाले जुनसुकै देशमा पनि सहकारीको मोडलबाट आर्थिक तथा सामाजिक विकास भएको उल्लेख गरिन् । सहकारीको वर्तमान वस्तुस्थितिको बारेमा जानकारी गराउँदै उनले पहिलेको तुलनामा सहकारीहरूमा सदस्य, पुँजी, कार्यक्षेत्र तथा सेवाकेन्द्रहरू वृद्धि भएको पनि जानकारी दिइन् ।

यस्तै, उनले सहकारी क्षेत्रमा दक्ष जनशक्तिको न्यून आकर्षण, तथा स्थायित्वको अभाव, शिक्षा तथा तालिमप्रति न्यून आकर्षण, प्रविधिमाथिको पहुँचमा सीमा, संस्थागत सुशासनको कमी, संघहरू व्यावसायिक बन्न नसक्नु र सहकारीका सकारात्मक कामको प्रचारप्रसारमा कमी पनि यस क्षेत्रका मुख्य चुनौती रहेको बताइन् । यस्तै, सिजेएनका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार खिलानाथ दाहालले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सहकारीहरूले सदस्यहरूको हितभन्दा पनि सीमित व्यक्तिहरूको हितका लागि काम गर्दा गलत घटनाक्रमहरू आइरहेको बताए । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x