Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबीखेतीमा किसानको बढ्दो आकर्षण

किबीखेतीमा किसानको बढ्दो आकर्षण


दैलेख । चार वर्षअघि जुम्लामा तीनवर्षे कृषि बाली विज्ञानको पढाइ सकेर (ओजेटी)को सिलसिलामा काठमाडौं पुगेका दैलेखको भैरवी गाउँपालिका ७ देउलेका राजेश कँडेल सोही क्रममा दोलखा, रामेछापलगायतका जिल्लामा पनि पुगे । कृषि पढ्दै गरेका राजेशलाई नेपालको पूर्वी जिल्लाहरूमा लटरम्म फलेको किबी देखेपछि आफ्नो ठाउँमा पनि सोही खेती गर्ने रहर जाग्यो । ‘एकातिर आफ्नो विषय नै कृषि, अर्कोतिर लटरम्म फलेका किबीका बोट र खेती गर्ने किसानहरूको आम्दानीको स्रोत सुन्दा मलाई पनि आफ्नो गाउँमा किबीखेती गर्ने रहर जाग्यो’, राजेश भन्छन् ।

उनलाई सुरुमा आफ्नो ठाउँमा किबी लगाउँदा फल्ला कि नफल्ला भन्ने कौतुहलता जागेको थियो । दोलखा र आफ्नो ठाउँको हावापानी उस्तै–उस्तै लागेपछि उनले परीक्षणकै लागि थोरै मात्र भए पनि किबीका बोट लगाउने निर्णय गरे । आफू अध्ययनको सिलसिलामा काठमाडौं बस्नुपर्ने हुँदा उनले दाजु विष्णु प्रसाद कँडेललाई कृषि विकास कार्यालय दैलेखसँग सहकार्य गरेर किबीखेतीको तालिममा सहभागी हुन सुझाए । कृषि विकास कार्यालय दैलेखले पनि विष्णुलाई एकहप्ते तालिममा पठायो ।

तालिम लिएर घर फर्केका विष्णुले परीक्षणका लागि सुरुमा आफ्नै लगानीमा १० वटा मात्रै किबीका बोट ल्याएर रोपे । घरछेउकै बारीमा रोपेको किबीले तीन वर्षमै फल दिन थालेपछि उनले व्यावसायिक किबीखेती गर्न सुरु गरेको सुनाए । विष्णुका अनुसार सुरुमा लगाएको किबीको एउटै बोटमा २० केजीसम्म फल फलेको थियो । विष्णुले किबीखेती गर्न थालेपछि हाल भैरवी गाउँपालिका ७ देउलेका अधिकांश किसान किबीखेतीमा आकर्षित हुन थालेका छन् । परीक्षणकै लागि रोपेका बिरुवाले सोचेभन्दा राम्रो फल दिन थालेपछि यहाँका अन्य कृषकहरू पनि किबीखेतीतर्फ आकर्षित भएको राजेश बताउँछन् ।

‘सुरुको तीन वर्षमै एउटा बोटमा २० केजीसम्म फलेको थियो, चार वर्ष भयो यसपालि त एउटै बोटमा ९० केजीसम्म किबी फल्यो’, राजेशले भने, ‘अहिले किबीको माग पनि बढ्दो छ, आम्दानी पनि राम्रै हुन थालेपछि धेरै बिरुवाहरू खरिद गरेर लगाएका छौँ ।’ उत्पादन भएको फल सुर्खेतमा लगेर बेच्ने गरेको उनले सुनाए । किबीको बजार पनि राम्रो रहेको उनको भनाइ छ । राजेश अहिले कृषिसँगै सम्बन्धित (बीएसीएजी) पढ्दै छन्, पढाइसँगै उनी गाउँकै एउटा सहकारी संस्थामा पनि आबद्ध छन् । अहिले उनले आफ्नो गाउँमा रहेको करिब ६० रोपनी जग्गामा किबीका बिरुवाहरू रोपेका छन् ।

‘गहुँ, मकै, कोदोजस्ता खेती बाली लगाउँदा वर्षमा तीन महिना मात्रै खान पुग्थ्यो’, उनले भने, ‘अहिले सबै जग्गामा किबीखेती गरेका छौँ, राम्रो भयो भने एक रोपनी जग्गामा मात्रै लागाएको किबीखेतीले पनि वार्षिक न्यूनतम ५०÷६० हजार आम्दानी हुन्छ ।’ यसलाई व्यावसायिक बनाउन अहिले गाउँभरिका अन्य किसानहरू पनि किबीखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक किबीखेतीबाट प्रशस्त आम्दानी हुने सम्भावना देखेपछि गाउँका ३५ जना किसानले करिब चार सय रोपनी जग्गामा दुई हजार आठ सय किबीका बिरुवा लगाएको राजेशले बताए । उनीआवद्ध तिनचुले हिमाली बागवानी पशु तथा कृषि सहकारी संस्थाका ४० सदस्यमध्ये ३५ जनाले किबीखेती सुरु गरेका हुन् ।

किबीखेतीलाई व्यक्तिगतभन्दा पनि सामूहिक बनाउनका लागि सहकारीमार्फत अहिले खेती सुरु गरेको सहकारीका अध्यक्ष समेत रहेका राजेशले बताए । उनका अनुसार अहिले त्यहाँका किसानलाई किबीखेती गर्नका लागि कर्णाली प्रदेश कृषि मन्त्रालयमार्फत कृषि विकास कार्यालय दैलेखबाट किबी ब्लग कार्यक्रमअन्तर्गत करिब १० लाख रुपैयाँबराबर सहयोग मिलेको छ ।

यसअघि चार सय रोपनी जग्गामा लगाएको गहुँ, मकैलगायतका खेतीभन्दा अहिले १५ रोपनी जग्गामा लगाएको किबीखेतीले धेरै आम्दानी हुनथालेको विष्णु बताँछन् । नेपालको पूर्वी भेगका पहाडी जिल्लाहरूमा किबीको व्यावसायिक खेती गरिए पनि पश्चिम नेपालमा किबी व्यावसायिक खेती गर्न थालिएको भर्खरै हो । किबीको खेती सफल भएपछि प्रदेश सरकारबाट केही हदसम्म सहयोग भए पनि स्थानीय तहले भने खासै वास्ता नगरेको किसानहरूको गुनासो छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x