Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिएसियाकै पहिलो ‘कृषिकर्जा मेला’ नेपालमा

एसियाकै पहिलो ‘कृषिकर्जा मेला’ नेपालमा


काठमाडौं । विश्वकै दोस्रो तथा एसियाको पहिलो ‘कृषिकर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा मेला हुन लागेको हो । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्तरुपमा आयोजना गरेको हो ।

कृषिकर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झन्झटिलो प्रक्रिया, उच्चदरको ब्याज र सेवाशुल्कलगायतका कारणले कृषकहरू बैंकसँग कृषिकर्जाको पहुँचमा पुग्न सकेका छैनन् । यो अवस्थामा आयोजना हुने कृषिकर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुशमा शर्माले बताइन् । मेलाले बैंक र कृषकहरूलाई एकै थलोमा भेला गराई कृषिकर्जा सम्बन्धमा जानकारी गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउनेछ । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरूमा बैंकर्स एसोसिएसन, शिखर इन्स्योरेन्स, फोन–पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेसन रहेको छ ।

यस्तै सोही मिति र स्थानमा नेपाल कृषि मेसिनरी व्यवसायी संघले सलोम पाँचऔँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरेका छ । कृषिकर्जा मेलासँगै प्रदर्शनी मेलाको पनि आयोजनाले थप आकर्षण बढेको संघका अध्यक्ष खोजराज कटुवालले बताए । कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषिकर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शर्माले कृषि क्षेत्रमा बैंकहरूले ठूलो लगानी भइरहे पनि उपलब्धि न्यून भएको बताए । कृषकका उत्पादनलाई ढुवानी र बजारीकरणसम्मका भ्यालु चेनमा बैंकले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । कृषिको उत्पादन र बजारीकणको प्रवद्र्धन गर्ने राष्ट्र बैंक र वित्तीय संस्थाहरूको पनि नीति रहेको उनले बताए । धेरैजसो सहुलियत कर्जा कृषि क्षेत्रमै गइरहे पनि वास्तविक कृषकसम्म पुग्न नसकेको उनले बताए । बैंकले कृषिमा लगानी बढाउन सके वैदेशिक रोजगारीमा युवा जाने क्रम पनि रोकिने उनको भनाइ थियो ।

नबिल बैंकका सीईओ अनिल केशरी शाहले यसअघि बैंकहरू घर, जग्गा र मोटरकर्जामै रमाइरहे पनि हाल कृषि क्षेत्रमा पनि लगानी बढाइरहेको बताए । नेपालको माटो नै उर्वर रहेको भन्दै उनले यस्तो उर्वर माटोलाई पूर्ण सदुपयोग गर्नुपर्नेमा जोड दिए । कृषिवस्तुको उत्पादन, भण्डारण र बिक्रीवितरणमा बैंकहरूले लगानी बढाउनुपर्ने र कृषिवस्तुको प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ । हजारौँ युवाहरू जहाज चढेर विदेश जाँदा जहाजको कार्गो खाली हुने बताउँदै उनले त्यसमा नेपालको कृषि उत्पादन भरेर खाडी मुलुक पठाउनुपर्ने बताए । यो मेलाले कृषक र उद्यमीहरूलाई सहज बनाउने उनले अपेक्षा गरे । कृषि विकास बैंकका उपकार्यकारी निर्देशक बाबुकाजी थापाले नेपालका बैंकहरूले हाल करिब तीन खर्बजति मात्रै कृषि क्षेत्रमा लगानी गरिरहेको बताए । नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर भएको भन्दै उनले कृषिको जीडीपीमा योगदान २५ दशमलव आठ प्रतिशत रहेको उल्लेख गरे ।

नेपालको उब्जाउ जमिनको २१ प्रतिशत मात्रै उपयोग भइरहेकोले उत्पादनक्षेत्र बढाउनुपर्नेमा थापाले जोड दिए । ब्याज, अनुदानमा मात्रै १३ अर्ब राज्यको खर्च भए पनि उपलब्धि कमजोर भएको उनको भनाइ छ । जसका कारण चामल, दाल, चिनी, फलफूल, तरकारीलगायतका वस्तु ठूलो मात्रामा आयात भइरहेको उनले बताए । कृषिवस्तुमा हुने आयात घटाउन नेपालमै उत्पादन बढाउनका लागि पनि बैंकहरूले कृषिकर्जा प्रवाह बढाउनुपर्ने उनको भनाइ छ । कृषक र बैंकलाई जोड्ने भएकोले नै यो मेलाको बैंकले मुख्य प्रायोजन गरेको पनि उनले सुनाए ।

धितोको अनिवार्यता र झन्झाटिलो प्रक्रियाले कृषकहरूले कृषिकर्जा लिन नसकेको नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताए । सीप, क्षमता र योजना हुँदा पनि धितोकै कारण काम गर्न नसकी खुम्चिनुपरेको उनको भनाइ छ । धितो भएकालाई मात्रै ऋण दिँदा सीप भएका मानिस पछि परिरहेको उनले बताए । विदेशमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्दा देशको नै विकास हुने उल्लेख गर्दै उनले विदेशबाट फर्किएकालाई बैंकले थप सपोर्ट गर्नुपर्ने बताए । ‘सीप र ज्ञान लिएर विदेशबाट फर्किएका युवाहरू पछि परिरहेका छन्’, आफ्नै उदाहरण दिँदै उनले भने, ‘नेदरलैण्डको मान्छेले मलाई पत्याएर विनाधितो ऋण दिएको छ तर नेपालकै बैंकले पत्याउँदैनन् ।’ मानिसको सीप, ज्ञान, योजना, शैक्षिक तथा सरकारी कागजात धितोको रुपमा राखेर पनि बैंकहरूले कर्जा उपलब्ध गराउनुपर्ने उनले बताए । ब्याज वा साँवा नतिर्ने वा लगत गर्नेलाई सरकारी तथा वित्तीय सेवाबाट वञ्चित गर्न सकिने पनि उनले सुझाव दिए ।

मेलाको मुख्य प्रायोजक सलोम एग्रिकल्चर प्रालिका निर्देशक श्रीकृष्ण अधिकारीले बैंक र वित्तीय संस्थाकै सहयोगमा आफू कृषि उद्यमी बन्न सफल भएको बताए । मेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले इजरायलमा सिकेको सीप र लिएको ज्ञानलाई नेपालमा सदुपयोग गरिरहेको सुनाए । बैंकले आफूलाई नपत्याएको भए अहिले उद्यमी र व्यवसायी बन्न नसक्ने बताउँदै सफल व्यवसायीहरूलाई बैंककै सहारा रहेको उल्लेख गरे । बैंकले ठूला उद्यमी र व्यवसायीलाई पत्याए पनि साना र ठूला कृषकहरूलाई नपत्याएको अवस्था रहेकोले अब त्यता ध्यान दिनेपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x