Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि१४ अर्ब ठगी आरोपमा शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ

१४ अर्ब ठगी आरोपमा शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ


शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्र्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं ३ घर भएका शर्मालाई सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ बाट पक्राउ गरेको बताएका छन् ।

शर्मा उपकार ब्रान्डका सञ्चालक पनि हुन् । उनी तीन दर्जनभन्दा बढी व्यावसायिक कम्पनीमा आबद्ध छन् । शिव शिखर सहकारीको केन्द्रीय कार्यालय भक्तपुरको कौशलटारमा छ भने देशभर ३५ जिल्लामा शाखा विस्तार गरेको छ । सबै शाखाबाट कुल एक लाख ६८ हजार सात सय २५ जना निक्षेपकर्ताबाट निक्षेप संकलन गरेको देखिएको सीआईबीले जनाएकोे छ । सबै निक्षेपकर्ता सदस्यहरूले मुद्दती खाता खोली जम्मा गरेको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार पाँच सय ८६ रुपैयाँ र तुलसी बहुमुखी सहकारी संस्था विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीको झापा, सुनसरी र उदयपुरमा रहेका शाखाबाट २१ हजार एक सय ५४ जना सदस्यहरूले जम्मा गरेको कुल एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार नौ सय १२ रुपैयाँ शर्माले अनियमितता गरेको देखिएको छ ।

शर्माले सहकारीमा संकलित पैसा सहकारी ऐन र नियमावलीविपरीत आफू र आफ्ना नजिकका व्यक्तिहरूको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरूमा ऋण लगानी गराई साँवा र ब्याज समेत सहकारी संस्थामा फिर्ता नगराएको देखिएको प्र्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिहरूको नाममा जग्गाजमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरूपयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पु¥याउने कार्यमा संलग्न शर्मालाई पक्राउ गरी थप अनुसन्धान सुुरु गरिएको प्रवक्ता अधिकारीले बताए ।

शर्माले सहकारीबाट मात्र नभई बैंकबाट समेत उल्लेख्यरूपमा कारोबार गरेको देखिएको छ । सहकारी र बैंकबाट गरी शर्माले करिब २२ अर्ब रुपैयाँबराबरको रकम लिएकोे देखिएकोे छ ।सीआईबीले वैशाख २७ गते शिव शिखर बहुउद्देश्यीय सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ललाई पक्राउ गरेको थियो । सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर फाइल अदालतमा बुझाएको थियो । त्यसपछि अदालतले पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाएको छ । उनीहरूसँग एक अर्ब ७१ करोड बिगो मागदाबी गरिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page


तपाईको प्रतिक्रिया