काठमाडौं, अवैध रुपमा नेपाल प्रवेश गरी काठमाडौंको विभिन्न कारखानाहरुमा लुकीछिपी काम गर्दै आएको १० जना बंगलादेशी नागरिक बुधबार पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.१८ गण हेडक्वार्टर (विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा) बाघभैरव काठमाडौंबाट खटिएको सप्रनि गणेश न्यौपानेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु काठमाडौंको विभिन्न स्थानहरुमा काम गर्दै आएका थिए । पक्राउ परेकाहरुलाई सशस्त्र प्रहरीले बुधबार नै अध्यागमन विभाग कालिकास्थानमा कारबाहिका लागि बुझाएको छ । पक्राउ पर्नेहरुमा कामनपा – १६ नयाँ बजार गीताञ्जली चोकस्थित ईन्द्र श्रेष्ठले सञ्चालन गरेको रुबि पश्मिना कम्पनीमा पश्मिनाको कामदारहरु वर्ष ४५ को मोहमद मुक्तर होसेन, वर्ष ३९ को अब्बास अली, वर्ष ४६ को रफिक आलम वर्ष ४० को मोहम्मद अरिफ सोसन रहेका छन् ।
त्यस्तै, कामनपा १६ नयाँ बजारमै मुके शेर्पाले सञ्चालन गरेको लिश्टिमाई पश्मिना उद्योग बाट वर्ष ३० को अजिजुल र वर्ष २९ को अब्दुल कादर नाम गरेका बंगलादेशीहरु पनि सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
यस्तै, कामनपा १५ डल्लुमा राजु महतले सञ्चलन गरेको आरपी पश्मिना उद्योगबाट ३७ वर्षका मोहम्मद आलम करिम, चमतीको नजिक ईबकुमारी तिरुवाले सञ्चालन गरेको सिद्धार्थ सिवानी पश्मिना उद्योगबाट वर्ष ३६को मेहेताब मण्डल र कामनपा १६ माछापोखरीमा श्यामप्रसाल बजगाईँले सञ्चालन गरेको गोल्डेन पश्मिना ह्याण्डिक्रफ्टबाट वर्ष २० को रातुल इस्लाम र वर्ष ३० को बसर खानसमेत पक्राउ परेको सशस्त्र प्रहरी बलका प्रबक्ता नेत्र कार्कीले जनाएका छन् ।