काठमाडौं, धनुषाको जनकपुरधाम उपमहानगर–पालिका–१९ कठाइतस्थित सडकमा श्रीरीपुरबाट कठाइततर्फ जाँदै गरेको प्र.०२–००४ प २०४६ नम्बरको ठक्करबाट पैदलयात्री मिथिला बिहारी नगरपालिका–९ कटरेज टोल बस्ने २६ वर्षीय प्रशान्त कुमार यादवको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
सिराहाको मिर्चैया नगरपालिका–६ बतहा पुलस्थित सडकमा ज ११ प ९००२ नम्बरको मोटरसाइकल र बीआर ३२ एआर ५४७३ नम्बरको मोटरसाइकल एकआपसमा आइतबार राति ठक्कर खाँदा ज ११ प ९००२ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–८ भगवतपुर बस्ने २३ वर्षीय सुमित कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका ज ११ प ९००२ नम्बरको मोटरसाइकलमा सवार अन्य १ जनाको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर र बीआर ३२ एआर ५४७३ नम्बरको मोटरसाइकलमा सवार २ जनाको राम जानकी अस्पताल प्रालि जनकपुरमा उपचार भइरहेको छ ।
यसैगरी सिराहाको धनगढीमाई नगरपालिका–१ बाखरस्थित सडकमा बाखरबाट करचिबारीतर्फ जाँदै गरेको स ५ प ४२०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय प्रेम कुमार महतोको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको श्रमजिवी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिका–६ शेहरा चोकस्थित सडकमा चन्हीबाट बोदेबर्साइनतर्फ जाँदै गरेको म.प्र.०१–००५ प ५६७७ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–२ चन्ही बस्ने २० वर्षीय राजिव पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिका–७ टोप्लास्थित सडकमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको गाडी सडकबाट करिब ६ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवारहरू काठमाडौं कंलकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्ण कुमार थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका गाडी चालक र गाडीमा सवार अन्य १ जनाको बी एन्ड बी अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।
बझाङको बुङ्गल नगरपालिका–१० टुमेडास्थित सडकमा टुमेडा गाउँबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो सडकबाट करिब ९ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा अटोमा सवारहरू सोही नगरपालिका–१० बस्ने अन्दाजी ३५ वर्षीया राजमति महरा, अन्दाजी १५ वर्षीया तारा महरा, अन्दाजी ५ वर्षीया डल्ली महरा र अन्दाजी ४ वर्षीय रियास महराको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।