पोखरा र बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा जिल्ला अदालत कास्कीले संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद तथा जरिबानाको सजाय सुनाएको छ।
अदालतले नेपालीलाई आठ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो। न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले गत कात्तिक १७ गते यस्तो फैसला गरेको हो। अदालतले कैद र जरिबानासँगै पीडितको रकमसमेत असुल गर्न आदेश दिएको छ।
फैसलाअनुसार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना सुनाइएको छ।त्यस्तै, निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने फैसला भएको छ।
बागलुङस्थित इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि बागलुङ कारागारमा रहेका देवकुमार नेपालीसहित १५ जनाविरुद्ध पोखरामा समेत अभियोग दर्ता भएको थियो। सोही मुद्दाको सुनुवाइपछि कास्की जिल्ला अदालतले फैसला गरेको हो।
यस प्रकरणमा अझै आठ जना प्रतिवादी फरार छन्। उनीहरूको हकमा भने फैसलाको पूर्णपाठ तयार भएपछि मात्रै थप जानकारी दिन सकिने अदालतले जनाएको छ। फैसलाको पूर्णपाठ तयार हुन केही समय लाग्ने बताइएको छ।
२०८२ कात्तिक २५ गते दायर गरिएको पूरक अभियोगपत्रका आधारमा मुद्दाको फैसला भएको हो। सुरुमा परेको जाहेरीमध्ये पाँच किस्तामा ४०० जनासँग मिलापत्र भएको थियो। त्यसपछि बाँकी ११० जनाको जाहेरीका आधारमा १५ जनाविरुद्ध अभियोगपत्र दर्ता गरिएको थियो। देवकुमार नेपाली हाल बागलुङ कारागारमा थुनामा छन्। उनी २०७४ र २०७९ सालमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।