अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभागअन्तर्गतका २७२ जना अधिकृत र नायब सुब्बाको सरुवा निर्णय रद्द गरिएको छ।भन्सार विभागले गत कात्तिक २० गते ६९ जना अधिकृत र २०३ जना नायब सुब्बाको विभागअन्तर्गतका विभिन्न कार्यालयमा सरुवा गरेको थियो। तर, सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री वाग्लेले उक्त निर्णय रद्द गर्न सोमबार निर्देशन दिएका थिए।
अर्थमन्त्री वाग्लेले सरुवा प्रक्रियामा पारदर्शिता नभएको भन्दै गम्भीर सूचना र उजुरी प्राप्त भएकाले तत्काल निर्णय रद्द गर्न मन्त्रालय र विभागको नेतृत्वलाई निर्देशन दिएका हुन्।उनले सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित बनाउन प्रविधिमैत्री प्रणाली विकास गरी नयाँ विधिबाट सरुवा गर्नसमेत निर्देशन दिएका थिए।
अर्थमन्त्रीको निर्देशनलगत्तै सोमबार नै निमित्त अर्थसचिव डा. सुमन दाहालले सरुवा निर्णय रद्द गर्न भन्सार विभागलाई पत्राचार गरेका थिए। त्यसपछि विभागले यसअघि गरेको सरुवा निर्णय रद्द गरेको हो।अब मन्त्रालयले विकास गर्ने प्रविधिमैत्री प्रणालीका आधारमा निर्धारित मापदण्डअनुसार नयाँ सरुवा प्रक्रिया अघि बढाइने विभागले जनाएको छ। यसैबीच, सरुवा प्रक्रिया अपारदर्शी भएको विषयमा छानबिन गर्न पनि अर्थमन्त्री वाग्लेले मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका छन्। मन्त्रालयले यस विषयमा आन्तरिक छानबिनसमेत सुरु गरेको छ।