दाङ, पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा उद्योग वाणिज्य सङ्घ, दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताएका छन् । उनले तुलसीपुरमा मंगलबार आयोजित सभामा आफ्नो धारणा राख्दै नागरिकबाट प्राप्त करले नै मुलुकको समृद्धि हुने जानकारी दिए ।
सो अवसरमा कर प्रशासनले करदाताको हितमा काम गर्ने बताउँदै कर अधिकृत उपेन्द पुनले करबाट नै देश विकास हुने भएकाले सबै उद्योगी, व्यवसायी, व्यापारीलाई राज्यले तोकेको मापदण्डअनुसार समयमै कर भुक्तानी गर्न अनुरोध गरे । सो अवसरमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधिको सहभागिता थियो ।
आन्तरिक राजश्व कार्यालय, तुलसीपुरले मंगलबार १५औँ राष्ट्रिय कर दिवसका अवसरमा सचेतनाका लागि यहाँस्थित त्रिसिदेश्वरी मन्दिरको धर्मशालामा रहेको कार्यालय प्राङ्गणबाट सुरु भएको प्रभातफेरि कार्यक्रम तुलसीपुर बजार परिक्रमा गरी सम्पन्न गरेको छ ।सोकार्यक्रममा बोल्ने अन्य सहभागीले कर तिर्ने संस्कृतिको विकास र कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।
मङ्सिर ७ गते विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट करदाता सम्मान गरी कर सप्ताह समापन गर्ने कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्यूठान, रुकुम पूर्व र कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम कार्यक्षेत्र रहेको यस कार्यालयका करिब एकलाख करदाता छन् ।