काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। शंकास्पद गतिविधि भइरहेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रिसोर्टमा छापा मारेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र पाँच जना महिला छन्। उनका अनुसार प्रहरी टोली रिसोर्टमा अनुगमनका लागि पुग्दा चिनियाँ नागरिकहरू भागाभाग गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनीहरूले रिसोर्टका दुईवटा कोठा भाडामा लिएर कार्यालयजस्तो संरचना बनाएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरू बसेको कोठाबाट मोबाइल फोन र कम्प्युटरसमेत बरामद गरेको छ। यद्यपि, उनीहरू के प्रयोजनका लागि नेपाल आएका हुन् र त्यहाँबाट के गतिविधि सञ्चालन गरिरहेका थिए भन्ने विषय खुल्न बाँकी रहेको डीएसपी विष्टले बताए। घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत बोलाइएको प्रहरीले जनाएको छ।