विराटनगर । नेपाल र भारतले पारवहन सन्धिको प्रोटोकल संशोधन गरेसँगै ब्यवसायीक क्षेत्रमा नयाँ आशा पलाएको छ । दुुईवर्षदेखी विराटनगरको एकीकृत भन्सार चौकीको रेल यार्डमा फर्किएर नआएको कार्गो रेल सेवा अब सञ्चालन हुने भएको छ ।
रेल संचालनपछि भारतसहित तेस्रो मुलुकबाट हुुने आयातमा करिब ६० प्रतिशतसम्म लागत घट्ने उद्योगी व्यवसायीको दाबी छ । बथनाहा–विराटनगर कार्गो रेल सेवा हाल सञ्चालनमा ल्याउँदा चारवटा वस्तुमात्रै आयात गर्न पाउने पारवहन सन्धि थियो । उक्त सन्धिको प्रोटोकल संशोधन निश्चित भएपछि नेपालले अब रेलमार्फत् विराटनगर भन्सारको यार्डमा सबै प्रकारका मालसामान आयात–निर्यात गर्न पाउने बाटो खुलेको छ । त्यसका लागि दुवै देशका अधिकारीहरूले नयाँ व्यवस्था लागू गर्ने प्रक्रियालाई चाँडै अघि बढाउन सहमत भएका छन् । भारतको बथनाहाबाट दुई हजार चार सय टन औद्योगिक कच्चा पदार्थ ¥याक लिएर आएको पहिलो कार्गो रेल दोस्रो पटक विराटनगर भन्सारको याडमा अहिलेसम्म आएको छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट बथनाहा–विराटनगर आठ किलोमिटरको कार्गो रेल चलेको जनाउ दिंदै हरियो झण्डा हल्लाएका थिए । त्यस बेला भारतको बथनाहबाट बुधनगरस्थित एकीकृत जाँच चौकीको रेल यार्डमा पहिलो कार्गो रेल पनि आइपुगेको थियो । त्यसपछी उक्त कार्गो रेल पारवहन सन्धिको प्रोटोकल अनुसार नेपालले रेलमार्फत् कोइला, क्लिड्ढर सिमेन्ट र रासायनिक मल गरी चारवटा बल्क कार्गो मात्रै भारतबाट ल्याउन पाउने व्यवस्थाका कारण आउन सकेको थिएन ।
अब उक्त प्रोटोकल संशोधन गरी बल्क कार्गोको परिभाषालाई व्यापकता प्रदान गरिएको छ । प्रोटोकल संशोधन मार्फत कन्टेनर कार्गोसहित सबै प्रकारका सामान रेलमार्गबाट ल्याउन सकिने व्यवस्था भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । यसले निजी क्षेत्रलाई ठूलो राहत प्रदान गर्ने भन्दै सुुनसरी मोरंग औद्योगिक करिडोरका उद्योगी एवं व्यवसायी पनि उत्साहित भएका छन् । पारवहनसन्धिको प्रोटोकल संशोधन गर्ने सहमति विगतकै सरकारको पालामा भएपनि औपचारिक पत्रहरूको आदान–प्रदान भने भर्खरै सम्पन्न भएको हो ।
विशाखापटनममा हुने सम्मेलनमा सहभागी हुन पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नयाँ दिल्लीमा भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भेट गरेपछि दुवै देशका अधिकारीहरूले प्रोटोकल संशोधनसँग सम्बन्धित पत्रहरू आदान–प्रदान गरेका थिए । सुुनसरी मोरंग औद्योगिक करिडोरका उद्योगीले प्रोटोकल संशोधन भएका कारण अब नेपाली व्यवसायीले सवै प्रकारका कार्गो विराटनगर भन्सार यार्डमा ल्याउन सहज बनेको बताए । त्यसका लागि नेपाली पक्षबाट अझै धेरै काम गर्न बाँकी रहेको भन्दै केही समस्या नेपाल पाटोमा देखिएको बताए ।
‘रेलवेको यार्ड पूरा भएको छ तर उक्त रेल कटहरीसम्म आउनुपर्नेमा अझैपनि समस्या रहेको भन्दै अहिलेसम्म नेपालतिर भएको कामको प्रगति पनि सरोकारवालाका बीचमा समेत जानकारी गराइएको छैन’, यहाँका एक उद्योगिले भने । तर जे भएपनि अब सवै मालबस्तु ल्याउन बाटो खुलेको र खुला सीमाका कारण हुने गरेको मालबस्तुको चोरीपैठारी र कन्टेनरबाट आयात गर्दा हुने लिकेज र ड्यामरेज पनि हट्दै जाने उद्योगिको विश्वास छ ।
उद्योग संगठन मोरंग अध्यक्ष नन्दकिशोर राठीले रेलबाट कार्गो ल्याउने नयाँ निर्णयले बाटो खोलेको बताए । तर पहिलेदेखि नै सरकारलाई भन्दै आएको लोड अनलोड र ह्याण्डलिङ चार्जलाई सहजीकरण गर्न सरकारले सहज गरिदिनु पर्ने उनको भनाई छ । उनले भने, ‘यो विषयमा पहिले पनि छलफल भएको थियो, हामीले चार्जलाई सहुलियत बनाउन आग्रह गरिसकेका छौं, त्यस्तो चार्ज बढी भएको खण्डमा हामीले वीरगञ्ज भन्सारसँग पनि प्रतिस्पर्धा गर्न पाएको छैन ।’ उनले लोड अनलोड र ह्याण्डलिङ चार्जलाई सहज बनाएको खण्डमा मात्रै रेलबाट हुने आयातमा फाइदा हुने र भन्सारबाट भइरहेको चोरी पैठारी पनि रोकिने दाबी गरे । अव यो नयाँ व्यवस्थाले विराटनगरको भन्सारस्थित रेल यार्डमा कार्गो रेल सञ्चालन हुने बताइको छ ।
सवै प्रकारका कार्गोलाई रेलमार्ग बाट आउने र आईसीपीलाई पूर्ण रुपमा सञ्चालन गर्न सकिने बताउन थालिएको छ । अहिले प्रोटोकल संशोधनपछि जोगबनी–विराटनगरबीच भारतीय बन्दरगाहबाट आउने कन्टेनर र बल्क कार्गो सोझै विराटनगरस्थित भन्सार यार्डको रेलमार्गमै प्रवेश गर्न सहज हुनेछ ।