बुटवल । पाल्पाको रिब्दीकोट गाउँपालिका व्यावसायिक कृषिको नमुना बनेको छ । विगतमा खाद्यान्नका लागि संघर्ष गर्नुपर्ने स्थितिबाट गुज्रिएको यो पालिकाले अहिले कृषि उपज निर्यात गरेर वार्षिक करोडौँ रुपैयाँ भित्र्याउन सफल भएको छ ।
गाउँपालिकाको पछिल्लो तथ्याङ्कअनुसार रिब्दीकोटबाट वार्षिक ४१ करोड रुपैयाँभन्दा बढी मूल्यको कृषि तथा पशुजन्य उपज निर्यात हुने गरेको छ । स्थानीय उत्पादनलाई प्रवद्धर्न गर्ने र कृषकलाई प्रोत्साहन गर्ने पालिकाको नीतिका कारण यो उपलब्धि सम्भव भएको हो । गाउँपालिकामा सुन्तला जातका फलफूलको व्यावसायिक खेती, बेमौसमी तरकारी र विशेष गरी टमाटर उत्पादनमा रिब्दीकोटले जिल्लामै नाम कमाएको छ । पशुपालनतर्फ आकर्षण बढ्दा दुध र खसीबोका बिक्रीबाट ठूलो रकम गाउँ भित्रिने गरेको छ । पहाडी भेगमा हुने विभिन्न जडिबुटीजन्य उत्पादन पनि निर्यातको श्रोत बनेको छ । अकबरे खुसार्नीको पनि राम्रो पकड हुँदा वार्षिक सात करोड रुपैयाँ बराबरको खुसार्नी निर्यात हुने गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । ‘केही वर्ष अघिसम्म यहाँका बासिन्दाहरू खाद्यान्नका लागि बजारमा निर्भर हुनुपर्ने अवस्था थियो । तर, गाउँपालिकाले कृषिमा आधुनिकीकरण, बिउबिजनमा अनुदान, सिँचाइको व्यवस्था र बजारीकरणमा सहजीकरण गरेपछि अवस्था बदलिएको हो’, उनले भने ।
रिब्दीकोटमा उत्पादन भएका सामग्रीहरू पाल्पाको सदरमुकाम तानसेन मात्र नभई बुटवल, भैरहवा, पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ । पालिकाको ताजा र अर्गानिक उत्पादनको माग बजारमा उच्च रहेको व्यापारीहरू बताउँछन् । वार्षिक ४१ करोडको निर्यातलाई अझै बढाएर ५० करोड माथि पुर्याउने पालिकाको लक्ष्य छ । यद्यपि, उत्पादित वस्तुको भण्डारणका लागि चिस्यान केन्द्र र थप प्रशोधन उद्योगहरूको आवश्यकता अझै खड्किएको छ । बाँदर तथा जंगली जनावरको आतंक र जलवायु परिवर्तनका कारण कृषिमा देखिने समस्यालाई न्यूनीकरण गर्न पालिकाले नयाँ योजनाहरू ल्याउने तयारी गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुषालले बताए । ‘स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउँदा कसरी गाउँको अर्थतन्त्र फेरिन सक्छ भन्ने उदाहरण पालिकाबाट प्रष्ट देखिने हुँदा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि गाउँमै उद्यमी बन्न प्रेरित गर्ने सम्भावना बढ्दै गएको छ’, भुषालले भने ।
पालिकाले ‘एक बोट सयको नोट’ निश्चित मापदण्ड बनाएर कार्यक्रम लागू गरेको छ । अगार्निक उत्पादनको लागि घरघरमा जैविक मल उत्पादन गर्ने गरिएको भुषालले बताए । ‘निर्यात वृद्धिमा गाउँपालिकाबाट हरसम्भव प्रयास भएका छन् । चालु आर्थिक वर्षमा पनि कृषि क्षेत्रमा धेरै कार्यक्रम रहेका छन्’, उनले भने । कृषिका सँगसँगै अन्य विकास निर्माणको क्षेत्रमा धेरै कामहरू भएको उनले बताए । उनका अनुसार पालिकामा भएका पर्यटकीय क्षेत्र हरूको प्रवद्र्धनमा पनि पालिकाले धेरै कसरत गरेको छ । भैरवस्थानपछिको चर्चित धार्मिक पर्यटकीय क्षेत्रको रूपमा परिचित जलेश्वर मन्दिरको विकासमा सडकको पहुँच वृद्धि, महायज्ञ सञ्चालन, थप संरचनाहरूको विकास लगायतका कामहरू भएका छन् ।
चालु आर्थिक वर्षमा सञ्चालनमा आउने योजनाहरूमध्ये उपभोक्ता समितिमार्फत कार्यान्वयनमा आउने ९० प्रतिशत योजनाहरू सम्झौता भई कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए । डेन्डर प्रक्रियाबाट हुने दुई/चार वटा योजनाहरूमात्र सम्झौता गर्न बाँकी रहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको पुष मसान्त सम्म पुँजीगत क्षेत्रतर्फ ३० प्रतिशत वित्तीय प्रगति भएको छ । जेठ सम्ममा सबै योजना सम्पन्न गर्ने रणनीतिमा पालिका रहेकोले उनको भनाइ छ ।