बुटवल । गुल्मीका तीन छिमेकी स्थानीय तहहरू रुरुक्षेत्र, छत्रकोट र गुल्मी दरबार गाउँपालिकामा चालु आर्थिक वर्षको भौतिक प्रगति उत्साहजनक देखिएको छ । युवा नेतृत्व र युवा प्रमुख प्रशासकीय अधिकृतहरूको सक्रिय कार्यसम्पादनका कारण यी पालिकाहरूले करिब ६० प्रतिशत भौतिक प्रगति हासिल गर्न सफल भएका हुन् । पालिकाहरुमा कर्मचारी जनप्रनिधिबीचको सुमधुर सम्बन्ध दुरदर्शी योजनाका कारण समयमै सम्पन्न हुने चरणमा लक्षण देखिएको छ । युवा प्रशासकहरूको सक्रियताले गर्दा विकासका काममा गुणस्तर र गति दुवै कायम रहने प्रष्ट देखिन्छ ।
रुरुक्षेत्र गाउँपालिकाले चालु आर्थिक वर्षका लागि तय गरिएका विकास योजनाहरूलाई लक्ष्य अनुरूप नै कार्यान्वयनमा ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीका अनुसार हालसम्म पालिकाको भौतिक प्रगति ६० प्रतिशतको हाराहारीमा पुगेको छ । धेरैजसो ठूला योजनाहरू निर्माणको अन्तिम चरणमा रहेकाले असार मसान्तसम्ममा वित्तीय प्रगतिमा उल्लेख्य वृद्धि हुने उनी बताउँछन् । योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न पालिकाले नियमित स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन र समयसीमाभित्र काम सक्न निर्माण व्यवसायी एवं उपभोक्ता समितिहरूलाई निरन्तर ताकेता गरिरहेको छौं, ज्ञवालीले भने ।
पालिकाले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मेरुदण्ड मान्दै यस वर्ष कृषिलाई समृद्धिको प्रमुख आधारका रूपमा प्राथमिकतामा राखेको छ । ज्ञवालीका अनुसार समग्र विकास नै समृद्धिको मियो भएकोले सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, र खानेपानी जस्ता आधारभूत क्षेत्रलाई पूर्वाधार विकाससँगै अगाडि बढाइएको छ । विशेषगरी कृषिमा उत्पादन वृद्धि गर्न प्रविधि हस्तान्तरण, उन्नत बीउविजन वितरण र वास्तविक उत्पादनका आधारमा अनुदान दिने प्रणाली विकास गरिएको छ । जग्गा नहुने तर कृषि कर्म गर्न चाहने भूमिहीन कृषकका लागि पालिकाले आफैँ जग्गा लिजमा लिएर उपलब्ध गराउने व्यवस्था मिलाएको छ, जसले गर्दा बाँझो जमिनको सदुपयोग र युवा स्वरोजगारमा ठूलो टेवा पुग्ने विश्वास लिइएको ज्ञवालीले बताए ।
स्थानीय तहमा सुशासन र पारदर्शिता कायम गर्न रुरुक्षेत्रले डिजिटल प्रविधिलाई उच्च प्राथमिकता दिएको छ । नागरिक वडापत्र, विद्युतीय हाजिरी र नियमित रूपमा गरिने नागरिक सुनुवाइ जस्ता कार्यक्रमले सार्वजनिक सेवा प्रवाहलाई जनमुखी र परिणाममुखी बनाएको ज्ञवालीको दाबी छ । यद्यपि, सीमित स्रोतसाधन र जनताको बढ्दो अपेक्षाबीच तालमेल मिलाउनु सबैभन्दा जटिल पक्ष रहेको उनले बताए ।
बसाइँसराइको बढ्दो दर र दक्ष जनशक्तिको अभाव हाम्रो कार्यसम्पादनमा देखिएका मुख्य चुनौती हुन् । ज्ञवालीले भने, ‘यसका बाबजुद पनि फोहोरमैला व्यवस्थापन, विपद् पूर्वतयारी र सबै सरोकारवालासँगको घनिष्ट समन्वयमार्फत हामीले सन्तुलित र दिगो विकासको लक्ष्य पछ्याइरहेका छौँ ।’
गुल्मीको छत्रकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा सकारात्मक रुपमा प्रगति हासिल गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसार पालिकाको वित्तीय प्रगतितर्फ चालु खर्च ४६ प्रतिशत र पुँजीगत खर्च १७ प्रतिशत देखिए पनि फिल्डमा हुने भौतिक प्रगतिको अवस्था भने करिब ६० प्रतिशत पुगिसकेको छ । पुँजीगत खर्चको भुक्तानी प्रक्रिया अन्तिम चरणमा रहेका धेरै योजनाहरू सम्पन्न हुने क्रममा रहेकाले भौतिक प्रगति उच्च देखिएको हो । हाल पालिकाका विभिन्न शाखागत कामहरू, ठूला ठेक्का प्रक्रिया र उपभोक्ता समितिमार्फत हुने विकास निर्माणका कार्यहरू धमाधम सञ्चालन भइरहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेले पालिकाको आफ्नै अत्याधुनिक प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, जसलाई आगामी वैशाख महिनाभित्रै उद्घाटन गर्ने गरी नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको छ । पूर्वाधार विकासअन्तर्गत पालिकाले सबै वडा कार्यालयसम्म पुग्ने पहुँच मार्गहरूलाई कालोपत्रे गर्ने कार्यलाई गौरवको आयोजनाका रूपमा अगाडि बढाएको छ । स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँचका लागि आधारभूत अस्पतालको स्तरोन्नती कार्यले पूर्णता पाउने क्रममा छ । शिक्षा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै ’मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम’ मार्फत कक्षा ६ देखि १० सम्म डिजिटल कक्षा सुरु हुनुले पालिकालाई प्रविधिमैत्री बनाउने अभियानमा ठूलो सहयोग पुगेको बताए ।
पाण्डेले कृषि, पर्यटन र शिक्षालाई समृद्धिको मुख्य आधार मानेको छत्रकोटले सडक विस्तारमा केही चुनौतीहरू झेले पनि विकासको गतिलाई रोकिएको छैन । राजनीतिक सरगर्मी र विभिन्न सामाजिक आन्दोलनका कारण केही समय सडकका काममा अवरोध पुगे पनि हाल ती समस्यालाई चिर्दै काम अगाडि बढिरहेको अवस्था छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्न कृषि सडकहरूको स्तरोन्नति र पर्यटकीय क्षेत्रको प्रवर्द्धनका कामहरू पनि प्राथमिकतामा परेका छन् । समग्रमा, प्रशासनिक चुस्तता र योजनाहरूको प्रभावकारी कार्यान्वयनले गर्दा छत्रकोट गाउँपालिका गुल्मीकै एक नमुना र विकासोन्मुख पालिकाको रूपमा स्थापित हुँदै गएको देख्न सकिने बताए ।
त्यस्तै, गुल्मी दरबार गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकास, कृषि आधुनिकीकरण र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य फड्को मारेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलका अनुसार हालसम्मको वित्तीय प्रगति ३३ प्रतिशतको हाराहारीमा देखिए पनि भौतिक प्रगति भने करिब ६० प्रतिशत पुगिसकेको छ । योजनाहरू कार्यान्वयनको प्रक्रिया तीव्र गतिमा अघि बढेकाले आगामी वैशाख मसान्तसम्ममा पालिकाले ९० प्रतिशतभन्दा बढी लक्ष्य हासिल गर्ने गरी कार्यसम्पादन गरिरहेको छ । वित्तीय प्रगतिको अंक केही कम देखिनुको प्राविधिक कारण प्रष्ट्याउँदै पौडेलले भने, ‘धेरैजसो योजनाहरू ठेक्का प्रक्रियाबाट अघि बढाइएका छन् । इस्टिमेट दररेटभन्दा कम मूल्यमा ठेक्का लाग्ने (लो–बिडिङ) परिपाटीले गर्दा १० देखि १२ प्रतिशत बजेट पालिकामै बचत हुने गर्दछ, जसले गर्दा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कम देखिन सक्छ ।’
पौडेलले भने– पालिकाको मुख्य उपलब्धिका रूपमा ’एक घर, एक स्वच्छ खानेपानी’ अभियानलाई लिइएको छ । वर्षौंदेखिको खानेपानी समस्या समाधानको अन्तिम चरणमा पुग्दा हालसम्म ९५ प्रतिशत घरधुरीमा धारा जडान भइसकेको छ । स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै सुधार गरिएको छ; १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइनुका साथै सोही अस्पतालमार्फत स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । त्यस्तै, शिक्षाको गुणस्तर सुधारका लागि पालिकाले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ । हाल निमावि र मावि तहका शैक्षिक संस्थाहरूमा स्मार्ट बोर्डमार्फत पठनपाठन सुरु गरिएको छ, जसले विद्यार्थीहरूको सिकाइमा उत्साह थपेको छ ।
कृषि प्रधान यस पालिकामा परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै प्रविधिमैत्री र व्यावसायिक कृषिलाई जोड दिइएको छ । कृषकहरूलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रममार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ अगाडी बढेको अवस्था छ । यसका साथै पालिकाको आफ्नै प्रशासनिक भवनको ठेक्का प्रक्रिया सम्पन्न हुनु र सडक पूर्वाधारका ठूला आयोजनाहरू सञ्चालनमा रहनुले गुल्मी दरबार समृद्धिको बाटोमा अघि बढेको संकेत गर्दछ । पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई एकसाथ अगाडि बढाउँदै पालिकाले चालु आर्थिक वर्षलाई नतिजामुखी बनाउन कुनै कसुर बाँकी नराखेको अधिकृत पौडेलको दाबी रहेको छ ।