दोलखा । जिल्लाको पर्यटकीय स्थल शैलुङको कालापानी क्षेत्रमा वन अतिक्रमित गरी बनाइएको संरचना हटाउने तयारी गरिएको छ ।
डिभिजन वन कार्यालय दोलखाले वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको हो । वन अतिक्रम हटाउने कार्य शैलुङ गाउँपालिकाको कालापानी क्षेत्रबाट सुरु गरिने । डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीले बताए । उनका अनुसार कालापानी क्षेत्रमा भएको वन अतिक्रमणसम्बन्धी मुद्दा अदातलमा छ । अदालतले केही दिनभित्रै फैसला दिने अपेक्षा गरिएको उनले बताए । अदालतबाट भत्काउने आदेश प्राप्त भएमा आदेश हुने बित्तिकै यस क्षेत्रका अतिक्रमित संरचना हटाउन डोजर परिचालन गरिने उनको भनाइ थियो । ‘कालापानीबाट अतिक्रमण हटाउने अभियान सुरु हुनेछ । अदालतको आदेश आए लगत्तै कार्यान्वयनमा जान्छौँ,’ उनले भने ।
नेपाल पत्रकार महासंघ दोलखाले बुधबार चरिकोटमा आयोजना गरेको वन तथा वातावरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख रेग्मीले वन क्षेत्रको अतिक्रमण हटाउने कार्यमा अब ढिलाइ गर्न नहुने बताए । डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार दोलखाका ९ स्थानिय तहमा ४४ दशमलव ८४ हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको छ । त्यसमध्ये ५ दशमलव ५८ हेक्टर व्यक्तिगत र ३९ दशमलव २६ हेक्टर संस्थागत रूपमा अतिक्रमण भएको कार्यलयले जनाएको छ । जिल्लामा व्यक्तिगत प्रयोजनभन्दा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण बढी भएको प्रमुख रेग्मीले बताए । कार्यक्रममा वन तथा वातावरण संरक्षणका लागि सरकारी निकाय, स्थानीय तह, सञ्चारमाध्यम र समुदायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो । पछिल्ला दिनमा सार्वजनिक तथा वन क्षेत्र फिर्ता गराउने विषयमा जिल्लाभर बहस चलिरहेका बेला डिभिजन वन कार्यालयले अतिक्रमण हटाउने अभियान तीव्र बनाउने जानकारी दिएको हो ।