विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगर क्षेत्रभित्र केही दिनयता दैनिक रूपमा पटक–पटक विद्युत् ट्रिपिङ र फल्क्च्युएसनको समस्या देखिएको छ ।
विद्युत ट्रिपिङ र फल्क्च्युएसनको समस्याका कारण उद्योग, व्यवसाय तथा सर्वसाधारणसमेत असर परेको छ । उद्योग संगठन मोरङका अनुसार विद्युत्मा देखिएको समस्याले यहाँका उद्योगहरूको उत्पादनमा समेत भारी कटौती भएको छ । विद्युुत्मा देखिएको समस्या समाधानको लागि उद्योग संगठन मोरङले बिहीबारै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको सचिवालय, नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक तथा नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशकलाई पत्राचार गरेको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठीले पत्रमार्फत बारम्बार भइरहेको ट्रिपिङ र फल्क्च्युएसनको समस्यालाई तत्काल समाधान गर्न आग्रह गरिएको बताए । उनले विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो नियमित र गुणस्तरीय बनाउन प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी दीर्घकालीन रूपमा समस्याको समाधान गर्न माग गरिएको जानकारी दिए ।
उनका अनुसार हाल औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटकभन्दा बढी भइरहेको विद्युत् ट्रिपिङले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुर्याएको छ । बारम्बारको विद्युत् अवरोधले उद्योगका मिल तथा मेसिनरीमा क्षति पुग्ने, उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुने, उत्पादन कार्य प्रभावित भई श्रमिकहरू निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । यसले उद्योगहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको उनले बताए । संगठनका उपाध्यक्ष विपिन कावराले हाल इन्धनको मूल्यवृद्धिका कारण जेनेरेटर सञ्चालन गरेर उत्पादन गर्दा पनि उत्पादन लागत उल्लेख्य रूपमा बढ्ने र त्यसले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा समेत नकारात्मक प्रभाव पार्ने बताए ।
उपाध्यक्ष कावराले बारम्बारको ट्रिपिङ तथा फल्क्च्युएसनले विद्युतीय उपकरणहरूको प्रयोगमा समस्या उत्पन्न भएको, विद्यार्थी, कार्यालय तथा घरायसी कामकाजसमेत प्रभावित भएकाले समस्याको गम्भीरता बुझी हाल सुुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूमा देखिएको ट्रिपिङ तथा फल्क्च्युएसनको समस्या शीघ्र समाधान गर्न संगठनले विद्युत् प्राधिरणलाई आग्रह गरेको बताए ।