दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकाले पछिल्लो सात वर्षमा ग्रामीण पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ । सडक पहुँच विस्तारलाई विकासको मुख्य आधार बनाएको गाउँपालिकाले आठ वर्षको अवधिमा करिब ३० किलोमिटर पक्की सडक तथा आठ वर्षमा ५० किलोमिटरभन्दा बढी पक्की गोरेटो बाटो निर्माण गरेको हो ।
गाउँपालिकाको ‘पक्की ग्रामीण सडक निर्माण अभियान’ अन्तर्गत वडा नं. २ र ३ जोड्ने बुस्ती–पुतलीकाठ–मिर्गे सडकको जोखिमपूर्ण भिरालो खण्डमा पालिकाले चालू आर्थिक वर्षमा ७०० मिटर आरसीसी ढलान गरेको छ । बाढी, पहिरो र भलको उच्च जोखिम रहेको क्षेत्रमा ढलान निर्माण भएपछि स्थानीयवासीको आवागमन सुरक्षित बनेको छ । वर्षायाममा हिलो र पहिरोका कारण अवरुद्ध हुने सडक अहिले वर्षभर सञ्चालनयोग्य भएको स्थानीयहरू बताउँछन् । गाउँपालिकाका अनुसार पछिल्लो आठ वर्षमा बुस्ती–पुतलीकाठ–मिर्गे सडकमा ७ किलोमिटर, गोपी–जोमाने सडकमा ९ किलोमिटर, नाम्दु–पाडुडा सडकमा ३ किलोमिटर, डाँडागाउँ–मेघेचौर–बगर खण्डमा १.५ किलोमिटर, मैनापोखरी अस्पताल सडकमा १.६ किलोमिटर, मैनापोखरी–बगर सडकमा २ किलोमिटर, मैनापोखरी–देउराली–क्षेत्रपा सडकमा ५ किलोमिटर तथा वडा नं. ७ अन्तर्गत नाम्दु–छाप र च्यानडा–छाप सडकमा २.७ किलोमिटर ढलान तथा कालोपत्रे सम्पन्न गरिएको छ ।
गाउँपालिका अध्यक्ष छवि लामाले सडक पूर्वाधारलाई विकासको मेरुदण्डका रूपमा लिएको बताए । ‘सडक पुगेपछि शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र सरकारी सेवाको पहुँच स्वतः विस्तार हुन्छ,’ उनले भने । उनका अनुसार वडा नं. ३ बाहेक गाउँपालिकाका सातवटै वडा पक्की सडक सञ्जालसँग जोडिएका छन् । सडकसँगै पैदल आवागमन सहज बनाउन गाउँपालिकाले गोरेटो बाटो निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीका अनुसार आठ वर्षमा करिब ५० किलोमिटर पक्की गोरेटो बाटो निर्माण भएको छ । पालिकाले हिलोरहित सडक र सुरक्षित पैदलमार्ग निर्माण अभियान संचालन गरेको उनले बताइन् ।
पालिकाले खानेपानी क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल गरेको दाबी गरेको छ । गाउँपालिकाका अनुसार हाल करिब ८५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ । सडक, गोरेटो बाटो र खानेपानी सेवाको विस्तारले ग्रामीण जीवनशैलीमा सकारात्मक परिवर्तन देखिन थालेको स्थानीयहरूको भनाइ छ । सडक पहुँच विस्तारसँगै कृषि उत्पादनको ढुवानी सहज भएको छ । किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल, आलु, दूध तथा अन्य कृषि उपज बजारसम्म सहज रूपमा पुर्याउन थालेका छन् । ढुवानी खर्च घट्दा स्थानीय उत्पादनको बजारीकरण र किसानको आम्दानीमा समेत वृद्धि भएको गाउँपालिकाको दाबी छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलका अनुसार गाउँपालिकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन तथा आयआर्जनका कार्यक्रमलाई पनि समान प्राथमिकतामा राखेको छ । दुग्ध उत्पादन प्रवर्द्धन, उन्नत जातका पशु वितरण, कृषि अनुदान तथा पशु स्वास्थ्य सेवाजस्ता कार्यक्रमले गाउँमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न मद्दत पुगेको उनले बताए । वैतेश्वरले विकास योजनालाई जनआवश्यकतासँग जोडेर कार्यान्वयन गर्दै आएको छ । आगामी वर्षहरूमा सडक स्तरोन्नति, खानेपानी विस्तार, कृषि आधुनिकीकरण तथा सामाजिक पूर्वाधार निर्माणलाई थप तीव्रता दिने गाउँपालिकाले जनाएको छ ।