बुटवल । श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले जोड दिएका छन् । श्रम तथा रोजगार मन्त्रालयको आयोजना तथा श्रम कार्यालय बुटवलको सहकार्यमा आयोजित ‘असल श्रम सम्बन्ध स्थापना तथा श्रम कानुनको कार्यान्वयन’ विषयक कार्यक्रममा सहभागीहरुले श्रम कानुन पालनामा कडाई गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालय, श्रम सम्बन्ध शाखाका उपसचिव गगन सिंह विष्टले श्रम कानुनको अक्षरशः पालना नगरे उद्योग, प्रतिष्ठान तथा श्रमिक सबै पक्ष जोखिममा पर्ने बताए । प्रतिष्ठान र श्रमिक दुवैको हितका लागि प्रचलित श्रम कानुनको अक्षरसः पालना हुनुपर्ने उनको भनाइ थियो । यस्तै उनले श्रम विवादलाई अदालती प्रक्रियामा लैजानु भन्दा आपसी संवाद, मध्यस्थता र सामूहिक सौदाबाजीका माध्यमबाट कार्यथलोमै समाधान गर्नु उत्तम विकल्प हुने बताए । उनले अन्तर्राष्ट्रिय श्रम बजारका असल अभ्यासहरूलाई नेपाली परिवेश अनुकूल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । उत्पादनशीलता बढाउन र श्रम बजारलाई व्यवस्थित गर्न रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।
त्यसैगरी, श्रम कार्यालय बुटवलका सूचना अधिकृत ऋषिराम पन्थीले कार्यथलोमा श्रमिकको सामाजिक सुरक्षा, स्वास्थ्य तथा व्यावसायिक सुरक्षा सुनिश्चित गर्नु रोजगारदाताको कानुनी दायित्व भएको उल्लेख गरे । न्यूनतम पारिश्रमिकको कार्यान्वयन र सुरक्षित कार्यवातावरणले मात्रै श्रमिकहरूको कार्यक्षमता अभिवृद्धि हुने उनको भनाइ छ । उनले कार्यक्रममा श्रम ऐन र नियमावलीमा भएका श्रम अडिट, श्रम विवाद निरुपणका प्रक्रिया र श्रम कार्यालयले खेल्ने समन्वयकारी भूमिकाका बारेमा जानकारी गराएका थिए । कानुनी प्रावधानहरूको अज्ञानता वा कमजोरीका कारण सिर्जना हुने समस्याहरूलाई न्यूनीकरण गर्न श्रम कार्यालयले निरन्तर अनुगमन र सहजीकरण गरिरहने उनले बताए ।
कार्यक्रममा सहभागीहरूले श्रम कानुन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक जटिलता, रोजगारदाता तथा श्रमिकका साझा चुनौती र विवाद समाधान प्रक्रियाबारे प्रश्न उठाएका थिए । कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रतिनिधि, उद्योगी–व्यवसायी, रोजगारदाता तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । सहभागीहरूले श्रम कानुनको प्रभावकारी कार्यान्वयनमार्फत औद्योगिक शान्ति, श्रमिक अधिकार संरक्षण र उत्पादनशीलता वृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।