सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । प्रदेशसभाको असार १ गते राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
तर उनले चालू र पुँजीगततर्फको विनियोजन नै खुलाएका छैनन् । प्रतिपक्षी दलका सदस्यहरुको बहिष्कारका बीच सरकारले बैठकमा आगामी आवको बजेट सार्वजनिक गरिएको थियो ।
बजेटमा खर्च व्यहोर्ने स्रोतबारे भने उल्लेख छ । जसअनुसार आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख, ६६ हजार अनुमान गरिएको छ ।
यस्तै, संघीय रोयल्टीबापत सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ खर्ब छ करोड ३३ लाख, चालू आवको विनियोजनबाट बचत हुने नौ अर्ब ६२ करोड, सशर्त अनुदान छ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदान ३८ करोड ३८ लाख र विषेश अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिला मन्त्री धामीले जानकारी दिए ।
बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यहरु आ–आफ्नो स्थानमा उठेर विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले दिएको समयमा बोलेका प्रदेशसभा सदस्य मानबहादुर धामीले समयमै बजेट पेस गर्न नसकेर सरकारले लाचारीपन देखाएको बताए । त्यसपछि सबै प्रतिपक्षी सांसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।
बजेट बाँडफाँटमा सत्तापक्षका प्रदेशसभा सदस्यहरुबीच नै मतऐक्यता हुन नसकेपछि प्रदेशसभा बैठकमा आगामी आवको बजेट पेस गर्न ढिलाइ भएको हो । प्रदेश सरकारको चालु आवमा ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरिएको थियो ।