काठमाडौं । ललितपुरको जावलाखेलमा शनिबार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भव्य रूपमा मनाइएको छ ।
जात्राको मुख्य आकर्षणका रूपमा रहेको भोटो दर्शन कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित जावलाखेल पुगेर भोटो जात्रा अवलोकन गरेका हुन् । सो अवसरमा उनले रातो मच्छिन्द्रनाथका साथै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए । परम्पराअनुसार मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो प्रदर्शन गरिन्छ । यस वर्ष पनि गुठी संस्थानका प्रतिनिधिले सर्वसाधारण र विशिष्ट अतिथिहरूको उपस्थितिमा मणिमाणिक्य जडित भोटो प्रदर्शन गरेका थिए । भोटो जात्रामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधामन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । भोटो अवलोकनका लागि जावलाखेलमा सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो ।
भोटो प्रदर्शनसँगै उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा औपचारिक रूपमा सम्पन्न भएको छ । जात्रा समापनपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखी बाजागाजासहित बुङमती लगिएको छ । रातो मच्छिन्द्रनाथलाई अन्नदाता, वर्षा गराउने तथा अनिष्ट र अनिकालबाट रक्षा गर्ने देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ । यही कारण यो जात्राले सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको छ । भोटो जात्रासँग जोडिएको जनविश्वासअनुसार बहुमूल्य रत्नजडित भोटोको स्वामित्वलाई लिएर एक ज्यापु वैद्य र भूतबीच विवाद भएको थियो । उक्त विवाद समाधानका लागि वास्तविक हकदारलाई प्रमाणसहित दाबी पेश गर्न सार्वजनिक रूपमा भोटो देखाउने परम्परा सुरु भएको मानिन्छ । वास्तविक मालिकले दाबी नगरेसम्म भोटो मच्छिन्द्रनाथकै संरक्षणमा रहने विश्वास रहिआएको छ ।