काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ कर्जाको माग आउन नसक्दा तरल रकम बैंकिङ प्रणालीमा नै थुप्रिएको देखिएको छ । अधिक तरला बढेको र अर्थतन्त्रमा देखिएका संकुचनका कारण बजारमा नयाँ कर्जाको माग बढ्न सकेको छैन । यो अवस्थामा बैंकिङ प्रणालीमा खर्बौँ रुपैयाँबराबरको लगानीयोग्य रकम थुप्रिँदा बैंकिङ क्षेत्रको कुल निक्षेप रकममा कुल तरल सम्पत्तिको हिस्सा बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ र फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूको कुल निक्षेप रकम ७९ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ पुग्दा उक्त निक्षेपको ३५ दशमलव ९८ प्रतिशत रकम तरल सम्पत्तिको रूपमा बैंकिङ प्रणालीभित्र नै रहेको देखिएको छ ।
बैंकिङ प्रणालीमा भएको यो तरल सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ११ दशमलव १३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप ६८ खर्ब ८४ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ कायम रहँदा कुल २४ दशमलव ८४ प्रतिशत रकम मात्र प्रणालीभित्र तरल अवस्थामा देखिएको राष्ट्र बैंकको भनाइ छ । चालू आवको पछिल्लो १० महिनामा वाणिज्य बैंकहरूको मात्र कुल निक्षेप रकम ७१ खर्ब ९७ अर्ब ३४ करोड ४० लाख रुपैयाँ रहँदा उक्त निक्षेपमध्ये ३६ दशमलव ८० प्रतिशत हिस्सा बैंकिङ प्रणालीभित्र नै तरल सम्पत्तिको रूपमा रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ६५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६१ खर्ब ४८ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गर्दा २५ दशमलव १५ प्रतिशत रकम तरल सम्पत्तिको रूपमा बैंकिङ प्रणालीभित्र नै देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरूले भने चालू आवको पछिल्लो १० महिनाको अवधिमा कुल छ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गर्दा २७ दशमलव शून्य तीन प्रतिशत रकम तरल सम्पत्तिको रूपमा बैंकिङ प्रणालीभित्र देखिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव शून्य तीन प्रतिशतले बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल छ खर्ब नौ अर्ब ४८ करोड ९० लाख रुपैयाँबराबरको निक्षेप संकलन गर्दा २२ प्रतिशत रकम तरल सम्पत्ति रूपमा प्रणालीभित्र देखिएको थियो । फाइनान्स कम्पनीहरूले पनि चालू आवको पछिल्लो १० महिनाको अवधिमा एक खर्ब ३९ अर्ब २१ करोड ६० लाख रुपैयाँबराबरको निक्षेप संकलन गर्दा ३५ दशमलव ४४ प्रतिशत निक्षेप रकम तरल सम्पत्तिको रूपमा देखिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ४७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब २६ अर्ब २५ करोड ८० लाख रुपैयाँबराबरको निक्षेप संकलन गर्दा ११ दशमलव ४७ प्रतिशत निक्षेप रकम तरल सम्पत्तिको रूपमा बैंकिङ प्रणालीमा देखिएको थियो ।