बागमती । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन । यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुुगमनसँगै सक्रियता बढाइएको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए । कपडा उद्योगसँगै तत्कालीन समयमा नै यससँग सम्बन्धित बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो । सूचना अधिकारी भण्डारीले भने, ‘हेटौँडा कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द भएका थिए ।’ त्यसयता समयसमयमा यसको पुनः सञ्चालनको प्रयास भने भइरहेको उनले जानकारी दिए ।
कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिए ।