काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूमा खराब कर्जा बढ्दा कुल गैरबैंकिङ सम्पत्ति (एनबीए) पनि ह्वात्तै वृद्धि भएको छ । अर्थतन्त्र संकुचित अवस्थामा रहेकाले कर्जाको साँवा–ब्याज असुली प्रक्रिया कमजोर छ भने धितोको लिलाम बिक्री पनि हुनसकेको छैन । यसले गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल गैरबैंकिङ सम्पत्ति बढेर ५४ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ । बैंकिङ क्षेत्रमा कुल खराब कर्जा नै बढेर औसतमा पाँच दशमलव ६० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा औसत पाँच दशमलव ३५ प्रतिशत खराब कर्जा र ४५ अर्ब ११ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । यो तथ्यांकअनुसार औसत शून्य दशमलव २६ प्रतिशतले खराब कर्जा बढ्दा कुल गैरबैंकिङ सम्पत्तिमा नौ अर्ब १० लाख रुपैयाँको वृद्धि देखिएको छ ।
वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूमा औसतमा पाँच दशमलव ४१ प्रतिशत कर्जा र ४५ अर्ब ९९ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा पाँच दशमलव शून्य पाँच प्रतिशत खराब कर्जा र ३८ अर्ब ४८ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । यसअनुसार वाणिज्य बैंकहरूमा शून्य दशमलव ३६ प्रतिशतले खराब कर्जा र गैरबैंकिङ सम्पत्ति सात अर्ब ५० करोड ९० लाख रुपैैयाँले थप भएको छ ।
यसैगरी विकास बैंकहरूमा पनि वैशाख मसान्तसम्म छ दशमलव १३ प्रतिशत खराब कर्जा र चार अर्ब ९३ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा बढी हो । गत आवको सोही अवधिमा पाँच दशमलव ५६ प्रतिशत खराब कर्जा र तीन अर्ब ९० करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । पछिल्लो अवधिमा विकास बैंकहरूमा शून्य दशमलव ५७ प्रतिशतले खराब कर्जा र गैरबैंकिङ सम्पत्तिमा एक अर्ब दुई करोड ९० लाख रुपैयाँ वृद्धि देखिएको छ ।
त्यस्तै फाइनान्स कम्पनीहरूमा पनि पछिल्लो अवधिमा १२ दशमलव १९ प्रतिशत खराब कर्जा र तीन अर्ब १८ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा १३ दशमलव शून्य चार प्रतिशत खराब कर्जा र दुई अर्ब ७२ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । यसअनुसार फाइनान्सहरूमा पछिल्लो अवधिमा खराब कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ८५ प्रतिशतले घटेको देखिए पनि कुल गैरबैंकिङ सम्पत्ति भने ४६ करोड ३० लाख रुपैयाँले बढेको देखिएको छ ।