दोलखा । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय तहहरूले संवैधानिक व्यवस्थाअनुसार असार १० गते गाउँसभा तथा नगरसभामार्फत आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । जिल्लाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षतामा बसेको गाउँसभाको १९औँ अधिवेशनमा उपाध्यक्ष कल्पना उप्रेतीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी थिइन् । पालिकाले चालू खर्चतर्फ ३५ करोड २७ लाख रुपैयाँ तथा पुँजीगततर्फ १४ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले आन्तरिक राजस्वबाट १ करोड ९० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य समेत निर्धारण गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, खानेपानी तथा सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । साथै उद्यमशीलता विकास, रोजगार सिर्जना, व्यवसाय प्रवर्द्धनमा अनुदान, पशुपालन क्षेत्रको प्रवर्द्धन तथा गाई–भैँसी सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
कृषि क्षेत्रलाई थप उत्पादनमुखी बनाउन ‘एक वडा–एक कृषि कार्यक्रम’ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस कार्यक्रममार्फत प्रत्येक वडाको सम्भावना र विशेषताअनुसार कृषि उत्पादनलाई प्रोत्साहन गरिने गाउँपालिकाको अपेक्षा रहेको छ । स्थानीय उत्पादन वृद्धि, स्वरोजगार प्रवर्द्धन तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ विभिन्न विकास तथा सामाजिक कार्यक्रम समेटेर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिकाले पनि ५४ करोड ५४ लाख बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको १९औँ गाउँसभा तथा ७२औँ गाउँ कार्यपालिका बैठकमा उपाध्यक्ष गायत्री आचार्यले आगामी आर्थिक वर्षको लागी ५४ करोड ५४ लाख ८० हजार ३७५ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । पालिकाले शिक्षा क्षेत्रका लागि १८ करोड १० लाख रुपैया, स्वास्थ्य क्षेत्रका लागि ४ करोड ४६ लाख ४ हजार रुपैयाँ, बालबालिका तथा लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालनका लागि १५ लाख ७२ हजार रुपैयाँ, भौतिक पूर्वाधार विकासतर्फ १८ करोड १० लाख रुपैयाँ तथा कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि १ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
जिल्लाको ठूलो नगर भीमेश्वर नगरपालिकाले ८९ करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख कमला बस्नेतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको प्रस्तावित बजेट नगरसभामा प्रस्तुत गरेकि थिइन् । त्यसैगरी जिरी नगरपालिकाले ५९ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । वार्षिक बजेटसहित नीति तथा कार्यक्रम र बजेट १८औं नगरसभामा नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी जिल्लाको गौरीशंकर गाउँपालिकाले पनि ५९ करोड ३८ लाख बराबरको प्रस्तावित बजेट तथा नीतिकार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ भने तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लागि ८२ करोड १० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । यस्तै शैलुङ गाउँपालिकाको बजेट ६१ करोड ६० लाख बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । शैलुङले चालु तर्फ ३४ करोड ५० लाख र पुँजीगततर्फ २७ करोड १० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी जिल्लाको कालिञ्चोक गाउँपालिकाले पनि आउदो वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । कालिन्चोकले ६४ करोड ७० लाख बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको हो । विगु गाउँपालिकाले पनि बुधबार नै ६१ करोड ६९ लाख बराबरको प्रस्तावित बजेटसहित नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ ।