जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उनलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आएका यादव यसवर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त भएका हुन् ।
‘पोहर परार साल साउन भदौ महिनातिर वर्षा भएको थियो, त्यसैले सोचेको जस्तो धान रोपाइँ गर्न सकेका थिएनौँ’, यादवले भने । यसवर्ष असारको पहिलो हप्तादेखि नै पर्याप्त वर्षा भयो, त्यसैले धान रोपाइँ गर्न भ्याइ नभ्याई छ । हालसम्म करिब तीन बिगाह जग्गामा धान रोपाइँ गरिसके, अबको केही दिनमै रोपाइँ सकिने उनको भनाइ छ । यस्तै धनुषाको सहिद नगरनगरपालिका–६ का रामकिसुन साहलाई पनि रोपाइँ गर्न चटारो छ । अघिल्ला वर्ष वर्सात्को अभावमा धेरै जग्गा बाँझो छोडेका साहले यसवर्ष असारको दोश्रो सातामै अधिकांश खेतमा धान रोपाइँ गरिसकेको बताए ।
धनुषाको यादव र साह मात्र होइनन्, मधेश प्रदेशका अधिकांश जिल्लाका किसान धान रोपाइँ व्यस्त छन् । लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएपनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा रोपाईँ गर्न व्यस्त भएका हुन् । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ । असार लागेसँगै मधेश प्रदेशमा धमाधम रोपाइँ भइरहेका छन् । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसानले रोपाइँमा व्यस्त छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ४ दशमलव ३६ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
सबैभन्दा बढी महोत्तरीमा ८ दशमलव १७ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्ग जग्गामध्ये तीन हजार २६६ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिए । सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टर खेतीयोग्य जग्गामध्ये एक हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताए ।
कृषि प्राविधिकका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ । यसवर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदे बसाइका किसान अजयकुमार यादवले बताए । धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । मधेस प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने गरेको छ ।