काठमाडौं । लघुबीमा कम्पनीहरूले पछिल्लो अवधिमा दुई अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन र निर्जीवन समेत गरी सञ्चालनमा रहेका सातवटा लघुबीमा कम्पनीहरूले कुल २९ लाख ६२ हजार नौ सय ६६ वटा बीमालेख बिक्री गरेबापत दुई अर्ब २६ करोड १५ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरूले मात्र चाल २५ लाख सात हजार तीन सय १४ वटा सक्रिय जीवन बीमालेखमार्फत कुल एक अर्ब छ करोड ४५ लाख ६१ हजार रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणको भनाइ छ । चालू आवको जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका चारवटा लघु निर्जीवन बीमा कम्पनीले भने कुल चार लाख ५५ हजार छ सय ५२ वटा बीमालेख जारी गरी एक अर्ब १९ करोड ६९ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार चालू आवको जेठ मसान्तसम्ममा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले १५ लाख १३ हजार चार सय आठवटा सक्रिय जीवन बीमालेखमार्फत ३८ करोड २१ लाख ९० हजार रुपैयाँ कुल लघु जीवन बीमा शुल्क आर्जन गर्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पाँच लाख ७७ हजार सात सय पाँचवटा सक्रिय जीवन बीमालेखमार्फत ३७ करोड ७८ लाख ४२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भने यस अवधिमा चार लाख १६ हजार दुई सय एकवटा सक्रिय जीवन बीमालेखमार्फत ३० करोड ४५ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । देशका विभिन्न व्यवसायको व्यापार सकारात्मक हुन नसकिरहेको बेला लघुबीमा कम्पनीहरूको यो व्यापारलाई सकारात्मक रूपमा लिइएको छ ।
प्राधिकरणका अनुसार लघु निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आवको जेठ मसान्तसम्ममा एक लाख १० हजार ६४ वटा बीमालेखमार्फत २९ करोड ७३ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले एक लाख ३१ हजार चार सय २४ वटा बीमालेखमार्फत ३४ करोड छ लाख ८६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पनि एक लाख २५ हजार नौ सय ६५ वटा बीमालेखमार्फत २५ करोड ८३ लाख ७६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले ८८ हजार एक सय ५९ वटा बीमालेखमार्फत कुल २७ करोड ३५ लाख ३५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।