काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा स्थापित गर्ने र ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले दुई संस्थाले सम्झौता गरेका हुन् । समझदारीअनुसार दुवै संस्थाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न संयुक्त रूपमा काम गर्ने भएका छन् । साथै, ‘स्टडी इन नेपाल’ अभियानलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय ब्रान्डिङ, विद्यार्थी भर्ना, अनुसन्धान, शैक्षिक साझेदारी र शैक्षिक कुटनीतिमा सहकार्य गर्ने सहमति भएको छ । यस अभियानमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई विश्व समुदायमाझ प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी, अनुसन्धानकर्ता तथा शैक्षिक साझेदारहरूलाई नेपालसँग जोड्ने लक्ष्य राखिएको छ ।
यसैगरी, दुवै संस्थाले संयुक्त रूपमा क्षमता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, बीटुबी नेटवर्किङ कार्यक्रम, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यसबाट शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूबीच समन्वय, सहकार्य तथा सूचना आदान–प्रदानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । सम्झौताअनुसार इक्यानका सदस्य शैक्षिक परामर्श संस्थालाई आइप्यानअन्तर्गतका कलेज तथा शिक्षण संस्थाका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति, प्रवेश मापदण्ड र करियरसम्बन्धी अद्यावधिक जानकारीमा प्रत्यक्ष पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसबाट विद्यार्थी तथा अभिभावकले थप तथ्यपरक र गुणस्तरीय शैक्षिक परामर्श सेवा प्राप्त गर्नेछन् ।
साथै, दुवै संस्थाले व्यावसायिक, पारदर्शी, नैतिक तथा जिम्मेवार कार्य वातावरण निर्माण गर्दै संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा विपन्न, जेहेन्दार, प्रतिभाशाली तथा अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउन पनि दुवै संस्थाले सहकार्य गर्ने भएका छन् ।