बजेट भाषणअघि करको दर हेरफेर हुने सूचना चुहाएर साइमेक्स इन्क प्रालिकी यमुना श्रेष्ठलाई चिनियाँ विद्युतीय गाडी बीवाईडीमा उल्लेख्य नाफा कमाउन सहयोग गरेको आरोप लागेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छानबिन समितिको प्रतिवेदन नै लुकाएका छन् । उक्त प्रकरणमा छानबिन गर्न आफैँले गठन गरेका अर्थ मन्त्रालय मातहतका दुईवटा छानबिन समितिको रिपोर्ट वाग्लेले सार्वजनिक नगरी लुकाएका हुन् ।
बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते नै भन्सार नाकामा गाडी नआउँदै भन्सार जाँच पास गर्दा जेठ २१ गतेसम्म गाडी भित्र्याइएको थियो । त्यसरी अनियमित किसिमले अर्थमन्त्री बाग्लेले करका दर हेरफेर को सूचना चुहाएपछि भन्सार नाकामा गाडी नपुग्दै भन्सार जाँचपासका कागजात तयार गरेर पछि बीवाईडी गाडी भित्र्याइएको बारेमा समाचार सार्वजनिक भएपछि त्यति बेला गृहमन्त्रालयको कार्यभारसमेत सम्हालिराखेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सशस्त्र प्रहरी बलले ७ सय ७५ वटा गाडी नियन्त्रणमा लिएको सरकारी राष्ट्रिय समाचार संस्था राससले आफ्नो बुलेटिनमा उल्लेख गरेको थियो ।
त्यसपछि अर्थमन्त्री वाग्लले कोरला भन्सार नाकाबाट अनियमित किसिमले नेपाल भित्रिएका ईभी गाडिका बारेमा छानबिन गर्न अर्थमन्त्रालयका सहसचिव रितेश कुमार शाक्यको नेतृत्वमा एउटा छानबिन टोली गठन गरेका थिए भने रसुवा भन्सार नाकाबाट त्यस अवधिमा भित्रिएका ईभी गाडीहरूबारेमा छानबिन गर्न भन्सार विभागका निर्देशक सुरेन्द्र पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरेका थिए । ती दुवै समितिले आ–आफ्नो छानबिन प्रतिवेदन बुझाइसकेका छन् तर उक्त बीवाईडी घोटालामा सरकारले अर्थमन्त्री वाग्लेलाई सुनपानी छर्केर चोख्याइसकेको छ तर पनि ती छानबिन प्रतिवेदन चाहिँ सार्वजनिक गरिएका छैनन् उक्त बीवाईडी घोटालामा प्रधानमन्त्री शाहले छुट्टै छानबिन समिति बनाएको कुरा त्यतिबेलै प्रधानमन्त्री शाहकी प्रेस सल्लाहकार दीपा दाहालले बताएको कुरा प्रकाशनमा आएको थियो ।
तर त्यसको बारेमा औपचारिक कुरो अहिलेसम्म बाहिर आएको पाइएको छैन । ती प्रतिवेदन लुकाएर गोप्य राखिएको र सार्वजनिक नगरिएको कुरा भन्सार विभाग र अर्थमन्त्रालयका केही कर्मचारीलाई दोष दिएर अर्थमन्त्री वाग्ले र विवादस्पद महिला यमुना श्रेष्ठलाई चोख्याउन न्वारनदेखिको बल प्रयोग गरिएका छन् । तर भन्सार विभागको सूचना अधिकारीको बेनामे हस्ताक्षरमा असार ४ गते एउटा प्रेस विज्ञप्ती निकालेर भन्सार विभागले भन्सार विभागका निर्देशकको छुट्टै छुट्टै टोली खाएर रसुवा भन्सार र मुस्ताङ भन्सारको अध्ययन गरिएको जनाएको छ र मुस्ताङ भन्सारबाट त्यसअवधिमा ६४ वटा विद्युतीय सवारी साधन भित्रिएको जनाएको छ जबकि जेठ २१ गते बिहीबारको बुलेटिनमा सरकारी संस्था राससले सशस्त्र प्रहरीले ७७५ वटा गाडी नियन्त्रणमा लिएको तस्वीरसहितको समाचार सम्प्रेषण गरेको थियो ।
उक्त बुलेटिनमा गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरला नाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बीवाईडीले ७७५ वटा विद्युतीय सवारी साधान नेपाल भित्र्याएको कुरा उल्लेख गरिएको थियो । छानबिन प्रतिवेदन र राससको स्थलगत रिपोर्टिङमा १२६ वटा बीवाईडी फरक भएको छ अर्थात् १२७ वटा गाडी हराएको छ । त्यो के भएको हो भन्ने बारेमा कसैले कही बताएका छैनन् । बीवाईडी काण्डमा भाउजुको भाइले गरेको खानदानी–कतूर्तलाई दबाउन अहिलेसम्म जे जस्ता गलत हर्कतको सहारा लिइएका छन् ।
त्यसैले नै त्यहाँ बदमासी गरेको स्पष्ट पादै गएको छ । नागरिकको मौलिक अधिकारमाथि कर लगाउने तथाकथित धुरन्धर अर्थशास्ती एवं रविको चेहरामा बीपीको इमानको झल्को देख्ने अर्थमन्त्री वाग्लेको उक्त दुईतिहाइको आडमा गरिएको बेइमानीमाथि संसदीय छानबिन गर्ने विपक्षीको माग प्रधानमन्त्री शाहले किन नसुन्यै गरेर बसेका हुन्, बुझ्न नसकिने विषय बन्दै गएको छ ।
अर्थमन्त्री वाग्लेलाई प्रकृतिक न्यायको सिद्धान्त विपरीत आफैँ घोटाला गर्ने, आफैं छानबिन गर्ने र आफैं सुझाइदिने अधिकार कसले कहाँबाट दियो भन्ने कुरा पनि बुझ्न सकिएको छैन । आफूलाई एक्सीडेन्ट पीएम भनेर सुरु विसुर घोषणा गर्ने अर्थमन्त्री वाग्लेका उक्त बीवाईडी काण्डमा सुशासनको राग अँगाल्ने प्रधानमन्त्री शाहले मौनता साधेर समर्थन गर्नुलाई आश्चर्यको रूपमा हेरिएको छ ।