काठमाडौँ । पछिल्लो समय घरजग्गा कारोबारमा बढोत्तरी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृति तथा वर्तमान स्थितिसम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदनले देशभर घरजग्गा कारोबार बढेको देखाएको हो ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालू आवमा छ दशमलव ४२ प्रतिशतले बढेको छ । गत आवमा घरजग्गा कारोबारमा चार दशमलव ५२ प्रतिशत गिरावट देखिएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको तेस्रो त्रैमासमा एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार रकम एक खर्ब सात अर्ब रुपैयाँ सीमित रहेको प्रतिवेदनमा उल्लेख छ ।
चालू आवको तेस्रो त्रैमासमा र जग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गतको कारोबार संख्या शून्य दशमलव ६२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कारोबार संख्या छ दशमलव ७१ प्रतिशतले घटेको थियो । यसैगरी लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको संख्या १२ दशमलव १७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासमा यस्तो कारोबार संख्या तीन दशमलव २६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल एक दशमलव ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १० दशमलव ८४ प्रतिशतले घटेको थियो ।
प्रतिवेदन अनुसार चालू आवको तेस्रो त्रैमासमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३ दशमलव ७२ प्रतिशतले बढेकोे छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासमा यस्तो राजस्व १३ दशमलव ४७ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको पुँजीगत लाभकर ३१ दशमलव ४२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर १ दशमलव ३१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा (आवसीय घरजग्गा कर्जासहित) पाँच दशमलव ५५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासमा यस्तो कर्जा सात दशमलव ५२ प्रतिशतले बढेको थियो ।
बागमती प्रदेशमा धेरै किनबेच
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बागमती प्रदेशमा घरजग्गाको कारोबार सबैभन्दा बढी देखिएको छ । यो प्रदेशमा राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३ दशमलव एक प्रतिशतले बढ्दा मधेश प्रदेशमा चार दशमलव ७९ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा यस्तो कारोबार संख्या बढेको छ ।
प्रतिवेदन अनुसार चालू आवको तेस्रो त्रैमासमा घरजग्गाको कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४ दशमलव ८४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा धेरै नौ दशमलव ३३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै एक सय ३१ दशमलव ५२ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम २२ दशमलव ६७ प्रतिशतले कारोबारको कुल मूल्य बढेको छ ।
चालू आवको तेस्रो त्रैमासमा सातवटै प्रदेशमा दुई दशमलव पाँचदेखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा २० आना भन्दा बढीका प्लटहरुमा सबैभन्दा धेरै कारोबार भएको थियो भने अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको थियो ।
प्रतिवेदन अनुसार छवटै महानगरपालिकाहरूमध्ये काठमाडौँ महानगरपालिकामा घरजग्गाको कुल कारोबारको संख्या सबैभन्दा धेरै एक सय आठ दशमलव ४२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि क्रमशः पोखरा महानगरपालिकामा ८२ दशमलव १५ प्रतिशत, ललितपुर महानगरपालिकामा ७३ दशमलव ८१ प्रतिशत, वीरगन्ज महानगरपालिकामा ३१ दशमलव शून्य सात प्रतिशत, भरतपुर महानगरपालिकामा २९ दशमलव २१ प्रतिशत र विराटनगर महानगरपालिका २७ दशमलव ९२ प्रतिशतले बढेको छ ।
प्रतिवेदनअनुसार चालू आवको तेस्रो त्रैमासमा कारोबार भएको कुल क्षेत्रफल छवटै महानगरपालिकाहरूमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै एक सय १९ दशमलव ८९ प्रतिशत र भरतपुर महानगरपालिकामा सबैभन्दा कम २९ दशमलव २१ प्रतिशत रहेको छ । यस अवधिमा घरजग्गा कारोबारको कुल मूल्य छ वटै महानगरपालिकाहरूमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै दुई सय २३ दशमलव १२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । उप–महानगरपालिकास्तरमा भने चालू आवको तेस्रो त्रयमासमा कलैया उप–महानगरपालिका बाहेक सबै उप महानगरपालिकाहरूमा घरजग्गा कारोबारको संख्या बढेको छ । बुटवल उप–महानगरपालिकामा सबैभन्दा धेरै ५६ दशमलव ७९ प्रतिशतले बढेको छ ।
कलैया उप–महानगरपालिकामा भने यस्तो कारोबार संख्या छ दशमलव ९५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल कलैया उप–महानगरपालिका र नेपालगञ्ज उप महानगरपालिकामा बाहेक सवै उप–महानगरपालिकाहरुमा बढेको छ । तुलसीपुर उप–महानगरपालिकामा सबैभन्दा धेरै ४२ दशमलव ७४ प्रतिशतले बढेको छ । नेपालगञ्ज उप–महानगरपालिकामा भने कारोबार भएको कुल क्षेत्रफल ६८ दशमलव २९ प्रतिशतले घटेको छ ।
प्रतिवेदन अनुसार चालू आवको तेस्रो त्रैमासमा घरजग्गा कारोबारको कुल मूल्य ११ वटै उप–महानगरपालिकाहरूमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । तुलसीपुर उप–महानगरपालिकामा सबैभन्दा धेरै एक सय ३४ दशमलव ४६ प्रतिशतले बढेको छ ।