काठमाडौँ । मेची इन्डस्ट्रिज लिमिटेड र भारतको लक्ष्मी इन–फ्याब प्राइभेट लिमिटेडबीच उत्पादन क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताले नेपालको एएसी ब्लक उत्पादन क्षेत्रमा एक नयाँ कोसेढुङ्गा थपिएको कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार मेची इन्डस्ट्रिजले आफ्नो उत्पादन क्षमतामा प्रति महिना ५ हजार क्युबिक मिटर एएसी ब्लकको थप उत्पादन गर्नेछ । यस क्षमता अभिवृद्धिसँगै कम्पनीकोे उत्पादन दायरा विस्तार गर्ने दीर्घकालीन रणनीतिअनुरूप मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ तथा वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णय गरी सम्बन्धित आपूर्तिकर्तासँग खरिद सम्झौता सम्पन्न गरेको कम्पनीले जनाएको छ । यस साझेदारीले दिगो विकास, अत्याधुनिक प्रविधि र निर्माण क्षेत्रमा बलियो उत्पादन क्षमतालाई विस्तार गर्ने कम्पनीको दाबी छ । यस द्विपक्षीय साझेदारीले नेपाल र भारतबीचको औद्योगिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ । साथै, मेची इन्डस्ट्रिज लिमिटेडले आफ्नो व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुदृढ बनाउने दीर्घकालीन रणनीतिअन्तर्गत तीनवटा महत्त्वपूर्ण प्रमाणपत्रहरू प्राप्त गरेको छ । कम्पनीले आईएसओ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली), १४००१ः२०१५ (वातावरणीय व्यवस्थापन प्रणाली) र ४५००१ः२०१८ (व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणाली) को अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो । कम्पनीका अध्यक्ष पवन घिमिरेका अनुसार यो उपलब्धिले कम्पनीको उत्पादकत्वमा गुणस्तर, संस्थागत सुशासन, वातावरणीय जिम्मेवारी, कर्मचारीको स्वास्थ्य एवं सुरक्षाका लागि सुरक्षित कार्य वातावरणप्रतिको प्रतिबद्धतालाई प्रमाणित गरेको छ । आगामी दिनहरूमा पनि निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, नवप्रवर्तन, र गुणस्तरीय उत्पादनमार्फत राष्ट्रिय औद्योगिक विकासमा योगदान पुर्याउर्ने उद्योगको रूपमा स्थापित हुने कम्पनीले जनाएको छ ।