काठमाडौं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज)ले स्टाट–अप गर्न चाहने आफ्ना विद्यार्थीलाई बीउपुँजी उपलब्ध गराउने भएको छ ।
कलेजको दीक्षान्त समारोहका अवसरमा एलबीईएफ ग्रुपका अध्यक्ष पंकजकुमार जालानले युवा उद्यमशीलता विकास गर्नका लागि उत्कृष्ट परियोजनाका आधारमा बीउपुँजी उपलब्ध गराइने जानकारी दिए । अध्यक्ष जालानले कलेजमा युवा उद्यमशीलता विकास कार्यक्रम सुरु गरिएकाले उत्कृष्ट परियोजनाका आधारमा विद्यार्थीलाई बीउपुँजी उपलब्ध गराउन लागिएको बताए । नेपाली विश्वविद्यालयमा सर्टिफिकेट लिएपछि विदेश जानुपर्छ भन्ने मान्यता तोड्न रोजगारी सिर्जना गर्न आफूरुले स्टाट–अप पुँजीको अवधारणा अघि सारेको उनको भनाइ छ । अध्यक्ष जालानका अनुसार कजेलबाट दीक्षित विद्यार्थीले आफ्नो व्यावसायिक परियोजनाअनुसार कलेजबाट बीउपुँजी प्राप्त गर्नुका साथै अन्य प्राविधिक सहायता समेत पाउनेछन् ।
कम्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ बीएस्सी २०२५ तर्फ ३२ जना र सफ्टवेयर इन्जिनियरिङ बीएससी २०२६ बाट २५ गरी कुल ५७ जना विद्यार्थी दीक्षित भएका छन् । पीसीपीएस कलेज बेलायतको प्रसिद्ध बेडफर्डसाइर विश्वविद्यालयसँग आबद्ध छ ।