काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावकारी कार्यन्वयन भएमा अर्थतन्त्र चलायमान हुने बताएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति धारणा व्यक्त गर्दै मल्लले मौद्रिक नीतिमार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यान्वयनको पाटो प्रभावकारी हुनुपर्ने बताए । आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको उनको भनाई छ ।
यद्यपी निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत बिजनेसको लागत घटाउने, कर्जाको ब्याजदर तथा वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा सहज तथा प्रभावकारी कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस कदम आवश्यक रहेको उनको भनाइ छ । मल्लले स्टार्ट–अप तथा नवप्रवर्तनशील व्यवसायका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिँदै एकद्वार केवाईसी प्रणाली कार्यान्वयन गरी बैंकिङ प्रक्रियालाई थप सरल, छरितो र डिजिटल बनाउन आग्रह गरे । वित्तीय क्षेत्रले डिजिटल प्रविधिको प्रभावकारी कार्यन्वयन गर्न सकेमा अनावश्यक कागजी प्रक्रिया र ढिलाइ हट्ने उनको भनाइ छ ।
नेपाल निर्जिवन बीमा वयवसायी संघका अध्यक्ष समेत रहेका मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच सुदृढ समन्वय तथा सहकार्य अपरिहार्य रहेको बताए । नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न सके लगानी, उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिले अपेक्षित गति लिने उनको विश्वास छ ।