काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गतको जीओ अटोमोबाइल्स प्रालिले नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ ।
कम्पनीले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा स्मार्ट विद्युतीय कार एमजी कमेट ईभी खरिदलाई थप सहज बनाउने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार अब एमजी कमेट ईभी दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा आफ्नै बनाउन सकिनेछ । यो रकम दैनिक ट्याक्सी बुकिङ वा व्यक्तिगत चालक राख्ने खर्चभन्दा पनि कम पर्ने कम्पनीको दाबी छ । कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारीसाधन खरिदलाई ठूलो आर्थिक निर्णयका रूपमा नभई सहज जीवनशैलीको स्वाभाविक रोजाइका रूपमा स्थापित गर्ने उद्देश्यले यो योजना ल्याएको बताए । उनले भन्नुभयो, ‘विद्युतीय सवारी खरिद गर्नु ठूलो आर्थिक बोझ जस्तो महसुस हुनु हुँदैन । एमजी कमेट ईभी अब दैनिक ५२० रुपैयाँको किस्तामा उपलब्ध भएपछि ग्राहकको सबैभन्दा ठूलो अन्योल हट्नेछ ।’ नेपालका साँघुरा सडक, सहरी जीवनशैली र इन्धन खर्च बचत गर्न चाहने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर यो गाडी तयार गरिएको उनले बताए ।
सुरुवाती मूल्य १८ लाख ७५ हजार रुपैयाँबाट उपलब्ध एमजी कमेट ईभी विशेषगरी सहरी सडकलाई लक्षित गरी डिजाइन गरिएको कम्प्याक्ट विद्युतीय ह्याचब्याक हो । चार जनासम्म सहज रूपमा यात्रा गर्न मिल्ने यसको केबिन दैनिक आवतजावत तथा सहरभित्रका नियमित यात्राका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । एमजीको अत्याधुनिक विद्युतीय प्लेटफर्ममा आधारित यस गाडीमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसले एकपटक पूर्ण चार्ज गर्दा एआरएआई प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ, जुन दैनिक आवतजावत, व्यक्तिगत कामकाज तथा सप्ताहान्तको सहरी यात्राका लागि पर्याप्त मानिन्छ ।
नेपालका सहरहरूमा बढ्दो सवारी चाप र इन्धनको बढ्दो मूल्यबीच एमजी कमेट ईभीको मुख्य विशेषता यसको कम्प्याक्ट आकार र किफायती सञ्चालन खर्च रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार नयाँ दैनिक ईएमआई योजना मार्फत नेपालमा विद्युतीय सवारी खरिदको आर्थिक अवरोध घटाउँदै ग्राहकलाई मासिक बजेटमा सहज रूपमा विद्युतीय सवारी किन्ने अवसर प्रदान गरिएको हो ।