विराटनगर । विगत केही दिनदेखि मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरुले अनियमित र अघोषित विद्युत् आपूर्तिको समस्या भोग्दै आएको गुनासो गरेका छन् ।
विद्युत् कटौतीले अधिकांश उद्योगकको उत्पादन कटौती भएको मोरङ उद्योग व्यापार संघले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै विना कुनै पूर्वसूचना दैनिक रुपमा पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङ हुनेगरेको उल्लेख गरेको । यसले उद्योग व्यवसायमा नकारात्मक प्रभाव पारेको संघले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार भएको दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगहरुले दैनिक घन्टौँसम्म अनिश्चितताको सामना गर्नु परिरहेको संघको भनाइ छ । अनिर्धारित प्राविधिक गडबडी र लापरवाहीका कारण उद्योगलाई चारैतिरबाट मार परिरहेको विज्ञप्तिमा उल्लेख छ ।
पटक–पटक आउने र जाने विद्युत् ट्रिपिङका कारण उद्योगहरुमा जडान गरिएका करोडौं मूल्यका अत्याधुनिक मेसिनरी, पार्टपुर्जा, इलेक्ट्रोनिक प्यानल र सफ्टवेयर प्रणाली नै बिग्रने क्रम अत्यधिक बढेको छ । यसले उद्योगमाथि मर्मत सम्भारको ठूलो र अनपेक्षित आर्थिक भार थपिएको संघले जनाएको छ । विशेषगरी प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरुमा प्रक्रियागत उत्पादनका क्रममा अचानक विद्युत् काटिँदा मेसिनभित्रै कच्चा पदार्थहरु जमेर नष्ट हुने, डढ्ने र करोडौँको उत्पादन पूर्ण रुपमा खेर जाने गरेको संघको भनाइ छ । संघका अनुसार विद्युत् आपूर्ति अनियमित हुँदा उद्योगहरुमा कार्यरत श्रमिकहरु घण्टौँसम्म कामविहीन भएर बस्नुपर्ने बाध्यता छ भने अर्कोतिर उद्योगहरुले श्रमिकलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक र सञ्चालन खर्च यथावत् रहने गरेको छ । यसले नेपाली उत्पादनले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता पूर्ण रुपमा गुमाउँदै जाने अवस्था सिर्जना हुुन थालेको संघले जनाएको छ ।
संघले समयमा उत्पादन हुन नसक्दा बजारमा सामानको अभाव सिर्जना हुने, मागअनुसार आपूर्ति गर्न नसक्दा उद्योगहरुको विश्वास गुम्ने र आयातित वस्तुहरुले बजार ओगट्ने जोखिम बढेको पनि उल्लेख गरेको छ । अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको औद्योगिक क्षेत्रलाई यसरी विना कुनै पूर्वसूचना र योजना अन्धकारमा राख्नु र उद्योगीहरुको समस्यालाई बेवास्ता गरिनु अत्यन्तै विडम्बनापूर्ण रहेको संघको भनाइ छ । यस्तो गैरजिम्मेवारपूर्ण रवैयाले उद्योगीहरुमा चरम निराशा पैदा गरेको संघले जनाएको छ । संघले नेपाल विद्युत् प्राधिकरणलगायत सम्बन्धित निकायलाई मोरङ–सुनसरी औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ र ट्रिपिङको समस्यालाई तत्काल अन्त्य गर्न आग्रह गरेको छ । साथै प्राविधिक कारणले विद्युत् काट्नुपर्ने अवस्था आएमा त्यसको पूर्वसूचना सम्बन्धित उद्योग व्यवसायलाई अनिवार्य उपलब्ध गराउन र स्वदेशी उद्योग व्यवसायको संरक्षण गर्न सरकारसँग माग गरेको छ ।