काठमाडौं । भारतको नोएडास्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बम्बई स्टक एक्सचेन्ज (बीएसई)मा २०५.०८ गुणा ओभरसब्सक्राइब भएको छ ।
कम्पनीले यसलाई भारतीय पुँजी बजारमा नेपाली उद्यमी संलग्न कम्पनीको पहिलो सूचीकरण भएको दाबी गरेको छ । कम्पनीको आईपीओ असार १६ गते खुला भई १८ गते बन्द भएको थियो । कम्पनीका अनुसार निष्कासन अवधिभर लगानीकर्ताबाट उच्च माग आएको थियो । सन् २०१३ मा इन्जिनियरिङ अध्ययनरत तीन विद्यार्थी—नेपालका दीपजंग थापा, पवन कुमार र परतोष कुमारले स्थापना गरेको क्रतिकल टेक हाल एआई–सञ्चालित साइबर सुरक्षा समाधान उपलब्ध गराउने कम्पनीका रूपमा परिचित छ । नेपालको खोटाङ स्थायी घर भएका सह–संस्थापक थापा कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) हुन् । उनी मोतीलाल नेहरू राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी)बाट बीटेक उत्तीर्ण हुन् भने यसअघि पेटीएममा प्रोडक्ट म्यानेजरका रूपमा कार्यरत थिए ।
‘खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेन्जको ट्रेडिङ फ्लोरसम्मको यात्रा मेरा लागि सपनाजस्तै हो । लगानीकर्ताबाट प्राप्त उत्साहले हाम्रो सोचप्रतिको विश्वास झल्काएको छ । आईपीओ अन्तिम लक्ष्य होइन, यो त अझ ठूलो यात्राको सुरुवात हो,’ उनले भने । उनका अनुसार आईपीओबाट संकलित पुँजी कम्पनीको अन्तर्राष्ट्रिय विस्तार, नयाँ सुरक्षा प्लेटफर्मको विकास तथा सीमापार साइबर सुरक्षा समाधान सुदृढ गर्न प्रयोग गरिनेछ । हाल कम्पनीले एआई–सञ्चालित एसएएएस आधारित सुरक्षा प्लेटफर्म, साइबर सुरक्षा परामर्श तथा नियामकीय कम्प्लायन्स सेवा प्रदान गर्दै आएको छ । कम्पनीका ग्राहकहरू बैंक तथा वित्तीय संस्था, फिनटेक, दूरसञ्चार, सूचना प्रविधि, स्वास्थ्य, औषधि, ई–कमर्स र उत्पादन क्षेत्रसम्म फैलिएका छन् । यसले भारतसँगै मध्यपूर्व र अन्य अन्तर्राष्ट्रिय बजारमा सेवा दिइरहेको कम्पनीले जनाएको छ ।