काठमाडौं । नेपाल चाइना इन्भेष्टमेन्ट एन्ड ट्रेड समिटमा सहभागी चाइना र नेपालका उद्यमी व्यवसायीले भरपर्दो डिजिटल इन्फ्रास्ट्रचर, दक्ष जनशक्तिको आदानप्रदान र एआईको सुरक्षित प्रयोगका लागि नीति तथा साइबर सुरक्षामा सहकार्यमा जोड दिएका छन् ।
बेइजिङ स्थीत नेपाली दूतावास र चाइना सरकारको चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडले बेइजिङमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले दुई देशबीचको सहकार्य औँल्याएका हुन् । नेपाल बिजनेस इन्ष्ट्रिच्युट (एनबिआई)का कार्यकारी अध्यक्ष विशाल गैरेले चिनियाँ लगानीकर्तालाई एआई र डिजिटल इन्फ्रास्ट्रचरमा लगानी गर्न आह्वान गर्दै एआई र डिजिटल प्रविधिको प्रयोगले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सावर्जनिक सेवा र आर्थिक विकासमा उल्लेखनीय प्रगति हुने दाबी गरे । नयाँ सरकार बनेसँगै नीतिगत स्थायित्व हुन लागेकोले नेपालको प्रचुर सम्भावनामा लगानी बढाउन उनले आह्वान गरे । उच्च गतिको इन्टरनेट पँहुच, डाटा सेन्टर र क्लाउड पूर्वाधार, डिजिटल साक्षरता, साइबर सुरक्षा, एआई नीति र कानुनी व्यवस्था, सरकारी डिजिटल सेवा, स्थानीय भाषा र एआई, मानव स्रोतको विकास र डिजिल अर्थतन्त्रबारे म्याचमेकिङ सेसनमा अध्यक्ष गैरेले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा चीनका लागि नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालले नीतिगत कठिनाइहरुको सम्बोधन र एफडीआईमार्फत नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई गर्ने सहजीकरणबारे जानकारी दिइन् । नेपालको पछिल्लो तथ्याङ्कमा चीन नेपालमा एफडीआईमार्फत सबैभन्दा बढी लगानी गर्ने देश भएको उनको भनाइ छ । नेपालमा लगानीको अवशर तथा नीतिगत व्यवस्थाबारे दूतावासी आर्थिक मामिला हेर्ने प्रमुख पार्वती अर्यालले लगानी सहजीकरणबारे प्रस्तुति दिएकी थिइन् । नेपालका एफएनसीसीआई, निर्यात व्यवसायी महासंघलगायतका संस्थाहरुले ऊर्जा, पर्यटन, निर्यात उद्यम, कृषि, स्वास्थ्य क्षेत्रलगायत विभिन्न व्यवसायको बारेमा विभिन्न प्रस्तुति र बिटुबी म्याचमेकिङ् कार्यक्रममा सहभागी भएका थिए ।