बेइजिङ, चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ । देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी)को स्थायी समितिको जारी अधिवेशनमा पेस गरिएको प्रतिवेदनअनुसार यस कदमको उद्देश्य वित्तीय निगरानी प्रणालीलाई सुदृढ बनाउनु र वास्तविक अर्थतन्त्रमा वित्तीय सेवाको पहुँच तथा प्रभावकारिता बढाउनु हो ।
सिन्ह्वाका अनुसार राज्य परिषद्ले पेस गरेको प्रतिवेदनमा वित्तीय क्षेत्रको आगामी विकासका लागि पाँचवटा प्राथमिकता निर्धारण गरिएको छ । तीमध्ये लचिलो मौद्रिक नीति कायम राख्ने, वित्तीय नियमनलाई प्रभावकारी बनाउने र वास्तविक अर्थतन्त्रका लागि वित्तीय सेवा विस्तार गर्ने विषय प्रमुख छन् । प्रतिवेदनअनुसार पर्याप्त तरलता सुनिश्चित गर्न चीनले विभिन्न नीतिगत उपकरणको व्यापक प्रयोग गर्नेछ । साथै, मौद्रिक नीतिको ढाँचाको निरन्तर मूल्यांकन गरी आवश्यक सुधार गर्नेछ ।